रूपन्देही क्षेत्र नं. ३ बाट बालकृष्ण खाणको एकल सिफारिस, एमालेबाट धनश्याम भुसालसहित चार जना

काठमाडाैं । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि बालकृष्ण खाणको एकल नाम सिफारिस भएको छ।

नेपाली कांग्रेस क्षेत्रीय कमिटीको आईतबार बसेको बैठकले गृह मन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य खाणलाई सर्वसम्मत् उम्मेदवार सिफारिस गरेको हो।

पार्टीका क्षेत्रीय सभापति सुशील गुरूङले समानुपातिकका लागि दुई जनाको नाम सिफारिस हुँदा प्रत्यक्ष निर्वाचनका लागि खाणको एकल नाम सिफारिस गरिएको जानकारी दिए।

खाणलाई क्षेत्र नं. २ बाट समेत उम्मेदवार सिफारिस गरिएको थियो।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ संविधानसभा सदस्य तथा महाधिवेशन प्रतिनिधि जन्नुतिन निसा धुनिया र कांग्रेस जिल्ला सहसचिव विष्णु थापाको नाम सिफारिस गरिएको छ।

एमालेबाट घनश्याम भुसालसहित चार जना

नेकपा एमालेले रूपन्देहीका निर्वाचन क्षेत्र नं. २ र ५ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत् एकल उम्मेदवार सिफारिस हुँदा क्षेत्र नं. ३ बाट भने घनश्याम भुसालसँगै चार जनाको नाम सिफारिस गरेको छ।

एमाले क्षेत्रिय कमिटीको आईतबार बसेको बैठकले निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि घनश्याम भुसाल, बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसाल गरि ४ जनाको नाम सिफारिस गरेको हो।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका भुसालसँग उम्मेदवारका लागि सिफारिसमा पर्ने घिमिरे तिलोत्तमा नगरपालिकाका यसअघिका नगरप्रमुख समेत थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको नगर प्रमुखको रूपमा विजयी भएका घिमिरे उत्कृष्ट कार्य गरेर लोकप्रियता कमाएका थिए।

नगर प्रमुखका लागि दोस्रो पटक आकांक्षी बनेका घिमिरेलाई त्यतिबेला नै क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने आश्वासन दिईएको एमाले स्रोतले जनाएको छ।

भुसाल २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट राप्रपा–कांग्रेस गठबन्धनका उम्मेदवार दिपक बोहोरालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यस्तै उम्मेदवार सिफारिस हुने शाह एमाले लुम्विनी प्रदेश कमिटी सदस्य छन् भने दुर्गा भुसालले सियारी गाउँपालिका क्षेत्रबाट एमाले पार्टीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published.