काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै अभाव महसुस हुने गरेको बताएकी छन् ।
गतवर्ष एमालेबाट फुटेर एकीकृत समाजवादी दर्ता गराउन अहम् भूमिका खेलेकी झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेलामा अभाव महसुस हुने गरेको उल्लेख गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले लेखेकी छन्, ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाई’
एमालेमा रहँदा उनीहरु दुवै जना माधव नेपाल पक्षका भनि चिनिएका थिए । तर जब एमाले विभाजनका विषय आयो त्यसबेला भट्टराईले पार्टी फुटाउन नहुने भनेर ओलीको साथ दिए भने झाँक्रीहरु नयाँ पार्टी खोल्नतिर लागे ।
तत्कालीन नेकपा कालको संघर्षमा रामकुमारी योगशहरूसँगै प्रचण्ड-माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराईलगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।
झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आडभरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए । आफू निरन्तर संवादमा रहने र सल्लाह सुझावसमेत लिने भूसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।
एमाले र पछि नेकपा हुँदा उनीहरू एकै समूहमा थिए। नेकपामा विवाद हुँदा उनीहरू दुवै प्रचण्ड–माधव नेपालका पक्षमा र केपी शर्मा ओलीविरुद्ध उभिएका थिए। तर अदालतले नेकपा विभाजनको फैसला गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा ओली र माधव नेपाल पक्षबीच टक्कर पर्यो।
यस क्रममा उनीहरू दुवै नेपाल पक्षमा रहेका भए पनि अन्तिम समय पार्टी विभाजनका बेला योगेश एमालेमै रहे भने रामकुमारी नेकपा एकीकृत समाजवादीमा समाहित भइन्।अहिले उनीहरू दुवै जना आआफ्ना पार्टीमा सचिव पदमा छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झाँक्री गृह जिल्ला गुल्मीबाट उम्मेदवारमा सिफारिस भएकी छन्। यही बेला उनले पूर्वसहकर्मी योगेश भट्टराईलाई सम्झेकी हुन्। आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवै चुनाव एकैचरणमा हुँदै छ।