मिडिया र डाेजर लिएर बालेन निस्किदा भित्रभित्रै नीति बनाउँदै सुनिता, जारी गरिन् श्वेतपत्र !

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छिन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ ।

पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाइ भएको र ५१ वटा विवादको किनारा लगाएको श्वेतपत्रमा उल्लेख छ । वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छिन् ।

सय दिनमा सयभन्दा बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले काठमाडौंवासीसँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षात्कार हुने अवसर प्राप्त उनले बताएकी छिन् । फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको कुरा पनि श्वेतपत्रमा उल्लेख छ ।

‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बन्चरेडाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेसन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको वस्तुस्थिति बुझ्नेलगायतका काम भएका छन्,’ उनले भनेकी छिन्,’ ‘पटक–पटकको प्रयासपछि सिसडोल र बन्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ ।

दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिनफाहोर व्यवस्थापनकालागिआवश्यककार्यहरु अघि बढाएका छौँ ।’

उपमेयर डंगोलले आफूले ‘मैले गरेको’, ‘मेरा कारणले भएको’ भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा पटक्कै विश्वास नगर्ने बताएकी छिन् । ‘यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचित होइन र हुँदैन पनि ।

त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमालो आवश्यक हुन्छ,’ उनले भनेकी छिन्,’ ‘हामीले १ सय दिनमा के गर्‍यौँ भनेर फेहरिस्त सार्वजनिक गर्नुभन्दा पनि हामीले जिम्मेवारी सम्हालेपछि काठमाडौं महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्त्वपूर्ण हो ।’

त्यस्तै उनले आफू नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेर उपमेयर पदमा निर्वाचित भए पनि साझा जनप्रतिनिधिको हैसियतमा काम गर्ने प्रण गरेकी छिन् । ‘हो, म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौँ महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु,’

उनले भनेकी छिन्, ‘म समावेशी लोकतन्त्रमा विश्वास गर्ने भएकाले आत्मगतभन्दा पनि सहकार्य, सहमति र सहअस्तित्वको भावनलाई आत्मबोध गर्दै अघि बढ्नुपर्छ भन्ने ठान्दछु ।्र

हामीले यो १ सय दिनमा ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैँ केही सकारात्मक कामको थालनी गरी काठमाडौं महानगरवासीमा आशाको बत्ती बाल्ने प्रयास भने गरेका छौँ । केही सकारात्मक योजनालाई हामीले अघि बढाएका छौँ । यो म एक्लैबाट सम्भव भएको भने अवश्य होइन ।’

Leave a Reply

Your email address will not be published.