दशैंका लागि नयाँ नाेट कहिलेदेखि साट्न पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा नयाँ नोट पठाउन थालेको छ । राष्ट्र बैंकले हिजो (भदौ २१ गते) देखि नै नयाँ नोट वाणिज्य बैंकहरूमा पठाउन थालेको हो ।

राष्ट्र बैंकअन्तर्गत मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालका अनुसार वाणिज्य बैंकहरूमा ६० बाकस (ड्रक्सा)का दरले नयाँ नोट पठाउन थालिएको छ । एक ड्रक्सामा ५० बन्डल नोट हुने दाहालले बताए ।

भीडभाड हुने बैंकका शाखाहरूले नयाँ नोट माग गरेकाले नयाँ नोट दिन थालिएको उनको भनाइ छ । २६ गतेपछि भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई तालिकाअनुसार नयाँ नोट उपलब्ध गराइने दाहालले बताए ।

यो वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका नोट वाणिज्य बैंकहरूलाई १२–१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका दरले १० ड्रक्सा नोट दिने तयारी गरिएको छ ।

राष्ट्र बैंकमा अहिले पनि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । तर, दसैँ नजिकिँदै जाँदा राष्ट्र बैंकमा भीड हुने गरेको छ । बैंकहरूले पनि भदौ मसान्तदेखि नै सर्वसाधारणलाई नोट साट्न पाउने व्यवस्थाको तयारी गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाले निश्चित शाखा कार्यालयहरूबाट नयाँ नोट सटही गर्ने गर्दछन् । राष्ट्र बैंकले भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने व्यवस्था मिलाइरहेको छ।

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्।

दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो।

Leave a Reply

Your email address will not be published.