भारतमाथि नेपालको शानदार जित

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ फुटबल च्याम्पियनसीपमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ ।

नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह बी विजेता समेत बनेको छ । नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवाश बमले समान एक-एक गोल गरे ।

भारतका लागि डानी मेइटेइले एक गोल गरे । भारतका डानीले खेलका २५ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर ४५ औं मिनेटमा सरोजले नेपालका लागि गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

खेलको ४९ औं मिनेटमा उनेशले गोल गरेपछि नेपालले अग्रता बढायो । खेलको ६७ औं मिनेटमा सुवाशले गोल गरे पछि नेपालले ३-१ को शानदार जित हात पार्‍यो ।

थाहामा जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा पहिलो पटक जिल्ला स्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । थाहा कला केन्द्रले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै असोज १४ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता बारे जानकारी दिएको हो ।

थाहा-३ को जनकल्याण माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताले थाहाको पर्यटन प्रवर्धन हुने आयोजक कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँसहित शिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिने अध्यक्ष मुक्तानले बताए ।

 

Leave a Reply

Your email address will not be published.