प्रचण्ड गुल्मीबाट पनि सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गुल्मी क्षेत्र नं. १ बाट पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । प्रचण्ड यसअघि ५ जिल्लाबाट सिफारिस भइसकेका छन् ।

पार्टीका जिल्ला अध्यक्ष बुद्धि जीसीले अध्यक्ष प्रचण्ड आए सजिलै निर्वाचन जिताउन सकिने भन्दै सिफारिस गरिएको दावी गरे । माओवादीले त्यस क्षेत्रमा प्रचण्डसहित नेता पुनाराम ज्ञवालीलाई संघमा सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेश (क) मा पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य श्रृजना तरामु मगर र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् ।

प्रदेश सभातर्फ १ को (ख) बाट जिल्ला पार्टी सचिव अशोक थापा (मुक्ती) जिल्ला सदस्य रामचन्द्र कँडेल र वाईसीएल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् ।

समानुपातिक तर्फको नमुना मतपत्र छाप्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आजबाट चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक तर्फको नमुना मतपत्र छाप्ने भएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने आयोगले जनाएको छ ।

बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने आयोगको योजना छ । चारवटा प्रदेशका लागि करिब एक करोड ३१ लाख मतपत्र छाप्ने आयोगले बताएको छ ।

मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापिनेछ । समानुपातिक तर्फको छपाइ सकिएलगत्तै प्रदेश र संघको छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ करिब २० लाख नमुना मतपत्र छापिँदै छन् । आयोगले भदौ २१ गतेबाट नमुना मतपत्र छाप्न सुरु गरेको हो ।

देशभरिका ७५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले सोही बमोजिम मतपत्र छापेको हो ।

Leave a Reply

Your email address will not be published.