रम्भा गाउँपालिकाले सुरु गर्‍यो कृषि एम्बुलेन्स, कृषक हर्षित

सुनिल कार्की
पाल्पा । रम्भा गाउँपालिका पाल्पाले कृषि एम्बुलेन्स सुरु गरेको छ । रम्भाबासीको कृषि उपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो । ख्याति कमाएको रम्भाको लिचीको प्रर्वद्धन र स्थानीय उत्पादनको बिक्रि गरी किसानको मेहेनतप्रतिको सम्मानको लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

हप्ता दिन अघिबाट नै कृषि एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाको तयारी भएपनि करिडोरको ठाउँठाउँमा गएको पहिरोले केही दिन ढिला हुन गएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा लिचि बिकेन भनेर हल्ला आए जस्तो यर्थाथमा त्यस्तो नभएको भन्दै हुँगीबासीको लिची घरघरबाटै बिक्रि भएको गाउँपालिका अध्यक्ष भण्डारीले दाबी गर्नु भयो ।

रम्भाबासी विशेष गरी हुँगी, अर्सेदी क्षेत्रमा बढी उत्पादन हुने लिचीको उचित मूल्य सहितको बजारीकरण कुनै समस्या नभएको भन्दै लिची कसको कुन घरको बिक्रि नभएको हो हामीलाई जानकारी गराउन गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

किसानले वर्ष भरी मेहेनत स्याहार सुसार गरि जोगाएर फालाएको लिचिको प्रर्वद्धनमा गाउँपालिका संवेदनशिल रहेको भन्दै लिचिको निर्धक्क राम्रो मुल्य सहित बिक्रि गर्ने ग्यारेन्टी गाउँपालिकाले लिने भन्दै चिन्ता नलिन अध्यक्ष भण्डारीले सम्पुर्ण रम्भाबासीलाई आग्रह गर्नुभएको छ ।

रम्भा गाउँपालिका वडा नं १ अर्सेदीमा एक कार्यक्रमको आयोजना गरि सुरु गरिएको कृषि एम्बुलेन्स कार्यक्रममा पालिकाको विभिन्न बजार क्षेत्रमा लगेर किसनाको उत्पादनलाई विक्रि गर्ने लक्ष्य पालिकाले लिएको छ । हेफर इन्टरनेश्नल र उपहार समाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहकार्यमा कृषि एम्बुलेन्स कार्यक्रम सुरु गरिएको हो । कृषि एम्बुलेन्स मार्फत बेसीको उत्पादन लेकमा र लेकको उत्पादन बेसीमा ल्याएर बजार सन्तुलन कायम गर्ने लक्ष्य अनुरुप रम्भाको हुँगी, फोकसिङ्गकोट, ताहुँ, पिपलडाँडा, अगाहाखोला लगायतको स्थानिय बजारमा कृषि एम्बुलेन्सले कृषि उपज पु्याउने छ ।

गाउँघरमा फालिएर खेरा गएको सागसब्जी,तरकारी,फलफूल लगायको कृषि उत्पादनको घरबाट नै बिक्रि भई राम्रो मुल्य पाउँदा कृषिप्रति हौशला थपिएको रम्भा १ हुँगीकी कृषक कुबिजा बस्याल अर्याले बताउनुभयो । गत वर्ष समेत कषि एम्बुलेन्स मार्फत खेतबारीबाटै कषि उपजको बिक्रि हुँदा स्थानिय सरकार रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स सुरु गरेर राहात मिलेको कृषक अर्यालको भनाई छ । निषेधाज्ञा बाहेकको समयमा उत्पादको बिक्रिको लागि छिमेकी जिल्लाको मालुङ्गगा,गल्याङ्ग लगायतको बजारमा डोकोमा बोकेर लैजानुपर्ने बाध्यता रहेकोमा निषेधाज्ञाको समयमा कृषि एम्बुलेन्स सुरु हुँदा घरघरबाटै उत्पादनले बजार पाउँदा राहात मिलेको कृषक अर्यालले बताउनुभयो ।

गत वर्षको कोरोना महामारीको बिचमा समेत रम्भाले कृषि एम्बुलेन्स सुरु गरेको थियो । कृषको माग र उनिहरुलाई कृषि कर्ममा निरन्तरता प्रदान गरि हौशलाको लागि कषि एम्बुलेन्स प्रभावकारी भएको वडा नं १ हुँगीका वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताउनुभयो ।

कृषि एम्बुलेन्स मार्फत लिचि, आलु, कुरिलो, बण्डा, खुर्सानी, सेबि, बोडी, भान्टा, साग लगायतको उपजको संकलन गरी बिक्रि हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *