कोटेश्वरमा चल्यो महानगरको डोजर, भत्काइयो न्याय कुरिरहेको ‘बूढो घर’

काठमाडौं । अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा डोजर चलाएको छ । महानगरले त्यस क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो ।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो ।

जडीबुटी चोकबाट पेप्सीकोलातर्फ मोडिने चोकमा रहेको पुरानो घर काठमाडौं महानगरपालिकाले भत्काएको छ । ६१ वर्षीय राधा बोहोराको स्वामित्वमा रहेको यो घर अदालतले मुआब्जा नतिरी नहटाउन फैसला सुनाएको थियो । तर, अदालतको फैसलाविपरीत घर भत्काइएको हो ।

राधाकी आमा माइली ८५ वर्षको हुँदा मुआब्जा नदिई भत्काउनबाट रोक्नुपर्ने माग गर्दै अदालत गएकी थिइन् । उनी न्यायका लागि लड्दा लड्दै बितिन् ।

२०६४ ताका नै जमीन ‘सरकारी’ भएको भन्दै माइलीलाई घर छोडेर जान स्थानीय प्रशासन र सडक विभागले दबाव दिएको थियो ।

राधाका छोरा राजीवले आदेशअनुसार कुनै मुआब्जा नदिएको र एक्कासी डोजर ल्याएर घर भत्काएको बताए । ‘अदालतको आदेश लत्याउँदै घर भत्काइयो’ उनले भने, अन्याय भयो ।’

२७ कात्तिक २०६४ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइलीलाई घरको क्षतिपूर्तिबापत ७ लाख रुपैयाँ बुझ्न आउन भन्दै सूचना जारी गरेको थियो । तर जग्गाको मूल्य र मुआब्जाबारे सरकार मौन थियो ।

Leave a Reply

Your email address will not be published.