बालेनकै पथमा चिरिबाबु, लगनखेलबाट शुरु गरे एक्सन !

ललितपुर । काठमाडौं महानगरका मेयर बालेन शाहको सिको गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पनि अनधिकृत संरचना हटाउन थालेका छन् । सोही क्रममा आइतबार उनले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प सिल गरेका छन् ।

महानगरका नगर प्रहरी गएर उक्त पम्प सिल गरेका हुन् । उक्त पम्प अनधिकृतरुपमा निर्माण भएको र हटाउन आग्रह गर्दा पनि अटेर गरेकाले सिल गरिएको जनाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो नगर क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचनादेखि डिजिटल बोर्डहरु हटाउने कार्यलाई तीब्रता दिएका छन् ।

ललितपुर महानगरपालिकाले लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्पमा सिल लगाएको छ । आइतबार ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन, प्रशासकीय प्रमुख गणेश अर्याल, वडा नम्बर १२ का वडाध्यक्ष नारायण अवालेलगायतको उपस्थितिमा नगर प्रहरीले पेट्रोल पम्पमा सिल लगाएको हो ।

पम्पको छाना भत्काएर तारजालीसमेत लगाएको छ । मञ्जुश्री पेट्रोल पम्प पञ्चायतकालदेखि नै सार्वजनिक जग्गामा सञ्चालनमा आएको र हटाउन प्रक्रियागत रुपमा पटकपटक पत्राचार गरेको भए पनि अटेर गरेपछि सिल लगाउन बाध्य भएको ललितपुर महानगरप्रमुख महर्जनले जानकारी दिए ।

‘अघिल्लो कार्यकाल (तीन वर्षअघि) मा नै उक्त पेट्रोल हटाउने प्रक्रिया थालेको हो,’ महानगरप्रमुख महर्जनले भने, ‘पछिल्लोपल्ट १० दिनको म्याद राखेर पेट्रोल पम्म हटाउन पत्राचार गर्यौं, अटेर गरेपछि फिल्डमा उत्रिन बाध्य भयौं ।’ महानगरले ६ महिनादेखि भाडासमेत नलिएको महर्जनले बताए ।

ललितपुर महानगरले दसैंपछि महानगरभित्र बनेका अनधिकृत संरचना प्रक्रियागत रुपमा हटाउने जनाएको छ । ‘अनधिकृत संरचनाको विवरण संकलन भइरहेको छ,’ महानगरप्रमुख महर्जनले भने,‘दसैं लगत्तै प्रक्रियागत रुपमा मापदण्ड विपरीतका संरचना हटाउने अभियान थाल्छौं, महानगरले हतारमा निर्णय नगरी प्रक्रियागत रुपमा अघि बढ्नेछ ।’

बालेनको सिको सिक्दै शङ्खरापुर नगरपालिका

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिए ।

नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको शेर्पाले जानकारी दिए ।

नगरपालिकाले वडा नं ९ देखि सुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो । प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख रमेश नापितको निर्देशनमा हटाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published.