कोरिया जानेहरुको लागि खुसीको खबर, अक्टोवरदेखि नयाँ नियम लागू हुने !

काठमाडाैं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरियामा आएका विदेशी कामदारलाई केही सहज हुने नियम ल्याउने भएको छ । सुधार भएको नयाँ नियम अक्टोवर महिनादेखि लागु हुनेछ ।

यसअघि एक सयभन्दा बढी कामदार भएको कम्पनीलाई ठूलो कम्पनी भनेर छुट्याएको थियो । यस्ता कम्पनीमा काम गर्ने विदेशी कामदार कमिटेड कामदारको रुपमा दोस्रो कार्यकाल कोरिया आउन नपाउने नियम थियो ।

फेरिएको नयाँ नियममा भने जस्तोसुकै कम्पनीमा काम गरे पनि कमिटेड कामदारको रुपमा कोरिया आउन पाउनेछन् । नेपाली कामदारहरू पनि डेउ सिप विल्डिङ (पानीजहाज निर्माण) गर्ने कम्पनीमा काम गरिरहेका छन् ।

पहिलो कार्यकाल सकिनुभन्दा पहिले कुनै पनि कम्पनीमा एक वर्षभन्दा बढी काम गरेको भए कम्पनीले चाहेमा पुनः कमिटेड कामदारको रुपमा आउन पाइने भएको छ । अहिलेको नियममा एउटै कम्पनीमा पहिलो कार्यकाल अर्थात् ४ वर्ष १० महिना अनिवार्य रुपमा काम गर्नुपर्छ ।

यस्ता कामदार मात्रै पुनः भाषा परिक्षा नदिई कमिटेड कामदारको रुपमा कोरिया आउन पाउँथे । कम्पनीका कारणले नयाँ कम्पनीमा जाँदा भने एक वर्षभन्दा कम समय भए पनि कमिटेड कामदारको रुपमा कोरिया आउन पाउनेछन् ।

कोरियामा रहेका कोरियन मजदुर युनियन, प्रवासी मजदुर युनियन जस्ता संघसंस्थाले लामो समय देखि ईपीएस प्रणालीमा सुधार हुनुपर्ने माग राखेर आन्दोलन गरिहरेको छ ।

त्यस्तै दक्ष कामदारको अभाव झेलिरहेको कोरियालाई नयाँ नियमले धेरै विदेशी कामदार पुनः भाषा परिक्षा नदिइ नै यहाँ आउन सहयोग हुनेछ ।

त्यसैगरी कोरियाले विदेशी कामदारको कोटामा पनि केही थप गरेको छ । अघिल्ला वर्षहरूमा ६० हजार विदेशी श्रमिक ईपीएस मार्फत् कोरिया आउँथे भने अर्को वर्षको लागि भने कोरियाले ६९ हजार जना श्रमिक ल्याउने कोटा तोकेको छ । नेपाल लगायत १६ वटा एसियाली देशहरूबाट ईपीएस मार्फत् कामदार आउने गरेका छन् ।

अहिले कोरियामा ईपीएस मार्फत् ४० हजार भन्दा बढी नेपाली काम गरिरहेका छन् । कोरोना महामारीका कारण रोकिएका कामदार यहाँको सरकारले खुला गरेपछि ७ हजारभन्दा बढी नेपाली कोरिया पुगेका छन् ।

Leave a Reply

Your email address will not be published.