युरोपा लिगमा रोनाल्डोको पहिलो गोल, युनाइटेड विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले करिअरमा पहिलोपटक युरोपा लिगमा गोल गरेको दिन म्यानचेष्टर युनाइटेडले बिहीबार राति शेरिफ टिरास्पोललाई २–० ले हराएको हो ।

यूईएफए च्याम्पियन्स लिगमा कीर्तिमानी गोल गरेका रोनाल्डोले ३९औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । ३७ वर्षे रोनाल्डोको जारी सिजन यो पहिलो गोल हो । त्यस्तै रोनाल्डोको क्लब प्रतियोगितामा यो ६९९औं गोल हो । त्यसअघि युनाइटेडले १७औं मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो ।

‘‘गोल गरेर टिमलाई जिताउन पाएकोमा खुसी छु ! महत्वपूर्ण तीन अंक !,’’ रोनाल्डोले ट्विटरमा लेखेका छन् ।

रोनाल्डोले सिजनको सुरुमा च्याम्पियन्स लिग खेल्ने चाहनाका कारण युनाइटेड छाड्न चाहेको बताएका थिए । च्याम्पियन्स लिगमा रोनाल्डोले १४१ गोल गरिसकेका छन् । पोर्चुगलका स्ट्राइकर रोनाल्डो युरोपा लिग खेल्न चाहदैनथे । तर, गत ‘ट्रान्सफर विन्डो’मा अर्को क्लब स्थानान्तरण हुन नसकेपछि रोनाल्डो युनाइटेडमा बस्न बाध्य भएका थिए ।

रोनाल्डोले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बनबाट २००२ पछि पहिलोपटक युरोपा लिग खेलेका हुन् । रोनाल्डो गत साता युरोपा लिगमै रियाल सोसिडाडसँग १–० ले पराजित हुँदा पनि टिमको पहिलो रोजाइमा परेका थिए । त्यसअघि युनाइटेडले प्रिमियर लिगमा लगातार चार खेल जित्दा रोनाल्डो बेन्चमा थिए ।

बेलायतकी रानी इलिजावेथ द्धतियको निधनका कारण गत साता प्रिमियर लिगका खेलहरू स्थगित भएका थिए ।

जितसँगै युनाइटेडले युरोपा लिगको समूह ‘ई’मा तीन अंक जोड्न सफल भएको छ । ६ अंक जोडेको रियाल सोसिडाड शीर्ष स्थानमा छ । सोसिडाडले गएराति साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले हराएको थियो ।

प्रिमियर लिगकै अर्को क्लब वेष्ट ह्याम युनाइटेडले पनि डेनमार्कको सिल्केबोर्गलाई ३–२ ले हरायो । जितसँगै ६ अंक जोडेको वेष्ट ह्याम समूह ‘बी’को शीर्ष स्थानमा छ । बेल्जियमको एन्डरलेच्ट ४ अंकका साथ दोस्रो स्थानमा छ । एन्डरलेच्टले गएराति रोमानियाको क्लब एफसी एफसीएसबीसँग गोलरहीत बराबरी खेलेको थियो ।

इटालियन सिरी ‘ए’को क्लब लाजियो भने डेनमार्कको मिड्जेल्यान्डसँग ५–१ ले पराजित भयो । समूह ‘एफ’मा नेदरल्यान्ड्सको फेयोनोर्डले अष्ट्रियाको स्टर्म ग्रेजलाई ६–० ले हरायो । समूह ‘एफ’मा चारै क्लबले समान तीन अंक जोडेका छन् ।

इटालीकै अर्को क्लब एएस रोमाले भने फिनल्यान्डको एचजेकेलाई ३–० ले हरायो । १४औं मिनेटमा मिरो टेन्होले रातो कार्डको सामना गरेपछि एचजेके दश खेलाडीमा सीमित भएको थियो । रोमा रहेको समूह ‘सी’मा गएराति स्पेनिस क्लब रियाल बेटिसले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई ३–२ ले हरायो । रियाल बेटिसको ६ अंक छ भने लुडोगोरेट्स राजग्राड र रोमाको समान तीन अंक छ । एचजेके अंकबिहीन छ ।

जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहन सफल युनियन बर्लिन भने पोर्चुगलको क्लब ब्रागासँग १–० ले स्तब्ध भयो । समूह ‘डी’मा युनियन बर्लिन अंकबिहीन छ । ब्रागा भने ६ अंकका साथ शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको युनियन सेन्ट जिलोइस दोस्रो स्थानमा छ । युनियन सेन्ट जिलोइसले स्विडेनको माल्मो एफएफलाई ३–२ ले हराएको थियो ।

जर्मनीकै अर्को फ्रेइबर्गले ग्रीसको ओलम्पिकोसलाई ३–० ले हरायो । समूह ‘जी’मा फ्रेइबर्ग ६ अंकका साथ शीर्ष स्थानमा छ । ओलम्पिकोस अंकबिहीन छ । अजरबैजानको क्लब क्वाराबग एफके तीन अंकका साथ दोस्रो स्थानमा छ । क्वाराबग फ्रान्सको नान्टेसलाई ३–० ले हराएको थियो । फ्रान्सकै अर्को मोनाको भने हंगेरीको अर्को क्लब फेरेनभारोससँग १–० ले पराजित भयो ।

 

Leave a Reply

Your email address will not be published.