बाबुराम भट्टराईलाई बालेनको जवाफ– हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि !

काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’

नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए ।

त्यस सम्बन्धीको समाचार बाबुरामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

बालेनको प्रशंसा गर्दै बाबुरामले भने- स्वरोजगार श्रमिकको व्यवस्थापन गर्नुस्

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिक व्यवस्थापन गर्न माग गरेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहसँग उनले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका हुन् ।

डा. भट्टराईले बालेनले गरेका कार्यहरुको पनि प्रशंसा र समर्थन गरेका छन् । ट्वीटरमार्फत भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई बुझ बालेनसँग आग्रह गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले आज बिहान एक ट्वीटमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् ।’

बालेनलाई भट्टराईले भनेका छन्, ‘अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’

Leave a Reply

Your email address will not be published.