भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार प्राप्त नयाँ मूल्य डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ ।

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमको दाबी छ । नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ ।

यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि नेपालमा निगमले मूल्य घटाएको थिएन ।

चीनतर्फका दुवै नाका सञ्चालनमा, सामान भित्रिन थालेपछि व्यापारी र उपभोक्तालाई राहत

चीनसँग जोडिएको रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएसँगै नेपालमा धमाधम सामान आउन थालेका छन् । चीनको तिब्बत क्षेत्रमा कोरोनाको जोखिम बढेका भन्दै चीनले साउन २५ गतेदेखि दुवै नाका बन्द गरेको थियो ।

चीनले एकतर्फी रुपमा नाका बन्द गरेका कारण नेपालमा करिब एक महिना कुनै पनि सामान आयात हुन सकेको थिएन । सामान बोकेका कन्टेनरहरु सीमानाकामा रोकिएपछि व्यापारीहरु मर्कामा परेका थिए ।

नेपाल भ्रमणमा रहेका बेला चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले गत बुधबार राष्ट्रपतिसँगको भेटका क्रममा नाका खुल्ने बताएका थिए । त्यसलगत्तै कोरोना भाइरस जोखिम कायम हुँदाहुँदै पनि चीनले नाका खुला गर्ने निर्णय गरेको थियो ।

ली नेपाल भ्रमणबाट फर्केलगत्तै भदौ ३० गते बिहीबारदेखि रसुवागढी नाका सञ्चालनमा आएको हो । यता तातोपानी नाका भने लीको नेपाल भ्रमणभन्दा अघि साउन २५ गतेदेखि नै सञ्चालनमा आएको भन्सार कार्यालयले जनाएको छ ।

रसुवागढी नाका सञ्चालनमा आएको पहिलो दिन १४ वटा कन्टेनर नेपाल भित्रिएका थिए । शुक्रबार २१ वटा कन्टेनर नेपाल भित्रिएका छन् । बिहीबार १४ र शुक्रबार २१ वटा कन्टेनरबाट अधिकांश रेडिमेड फेन्सी सामान आएका छन् ।

नाका खुला भएसँगै व्यापारीहरुलाई ठूलो राहत पुगेको हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । नेपालीहरुको महान् चाडबाडको समयमा सामान आपूर्ति नहुँदा व्यापारीमात्र नभएर उपभोक्ता पनि त्यसको मारमा परेका थिए । अब नाका खुलेसँगै सबैलाई राहात पुगेको श्रेष्ठको भनाइ छ ।

सामान्य समयमा भन्दा चाडबाडको समयमा किराना, फेन्सी तथा खाद्य पदार्थको माग बजारमा बढी हुन्छ । तर, महिनौँसम्म नाका ठप्प हुँदा आपूर्तिमा समस्या भएर बजारको मागअनुसार सामान पुर्याउन व्यापारीलाई पनि समस्या भएको थियो । चीनसँग जोडिएका दुवै नाका सञ्चालनमा आएसँगै सामान आपूर्तिमा सहज भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

“बजारमा अन्य समयमभन्दा दसैँ, तिहार जस्ता चाडबाडको समयमा किराना तथा फेन्सी सामग्रीको माग धेरै हुन्छ” उनले भने, “नाका बन्दको कारण उपभोक्ताको मागअनुसार सामान आपूर्ति गर्न गाह्रो अवस्था थियो । तर , दुवै पक्षको सरकारबीचमा सहमति भएर नाका खुला हुँदा व्यापारीहरुलाई ठूलो राहत पुगेको छ ।”

अब निरन्तरण रुपमा नाका सञ्चालनमा आएपछि उपभोक्ताको मागसमेत पूरा गर्न सहज हुने श्रेष्ठले बताए ।

 

 

Leave a Reply

Your email address will not be published.