निर्वाचन जित्ने कुरामा मलाई आत्मविश्वास छैन, हामी धेरै बढारिनेवाला छौँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचन जित्ने आत्मविश्वास आफूमा नभएको बताएका छन् ।

शनिबार बसेको प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले राजनीतिक दलको गतिविधिबाट जनता दिक्क भएको तथा स्वतन्त्र र युवा जमातले ओभरटेक गर्ने अवस्था सृजना भएकाले आगामी निर्वाचनमा जित हासिल गर्ने आत्मविश्वास आफूमा नभएको बताएका हुन् ।

‘देशको वृहत्तर हितका लागि हामी (राजनीतिक दलहरू) धेरै कुरामा चुकेका छौँ,’ उनले भने, ‘युवा पुस्तामा यस्तो लहर आउँदैछ बालेन र हर्कहरूको, यो त एउटा सानो झिल्को मात्रै भएको मैले देखिरहेको छु । यसलाई तपाइँले सम्बोधन गर्न सक्नुभएन भने आउँदो निर्वाचनमा गाउँ–ठाउँमा त त्यति प्रभाव नपर्ला तर, शहरी क्षेत्रमा सहजै चुनाव जित्नेवाला हामी छैनौँ ।’

उनले अगाडि भने, ‘हामी को–को बढारिन्छौँ म भन्न सक्दिनँ । मलाई त आत्मविश्वास छैन । म सकेसम्म आफूलाई नवीकरण गर्ने प्रयत्न गरिराखेको छु । तर, म आफैमा आत्मविश्वास छैन ।’ राजनीति दल पछि परेको तथा देशको समस्या हल गर्न नसक्दा यस्तो अवस्था सृजना भएको डा. भट्टराईको भनाइ छ ।

‘हामीले शीर ठाडो पारेर जनताको बीचमा मत माग्न जाने अवस्था छैन,’ बैठकमा उनले भने, ‘युवा पुस्ताको असन्तुष्टिलाई तपाइँले कम नआँक्नुहोस् ।’

Leave a Reply

Your email address will not be published.