तपाइँको मोबाइलमा ई–सिम सर्पोट गर्छ कि गर्दैन, यसरी थाहा पाउनुहोस् !

काठमाडौं । नेपाल टेलिकमले हाल एम्बेडेड सिम (ई–सिम) धमाधम वितरण गरिरहेको छ ।

दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकलाई निःशुल्क ई–सिम वितरण गरिरहेको हो । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण गरिरहेको जानकारी दिएको छ ।

साथै वितरण भइरहेको ई–सिमका लागि कम्पनीसँग यथेष्ट संख्या मौज्दात रहेको जानकारी दिँदै उक्त सिम ग्रहण गर्न पनि कम्पनीले प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

ग्राहकहरुको अत्यधिक रुचि र मागलाई दृष्टिगत गर्दै ग्राहकवर्गको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको ई–सिम भोलि मंगलबार (असोज ४ गते) देखि कम्पनीका ग्राहक सेवा केन्द्रहरु नक्शाल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयलगायत ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

ई–सिम कसरी इन्स्टल गर्ने ?

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान कम्पनीले आफ्ना ग्राहकवर्गमा अनुरोध गरेको छ ।

यसका लागि आफ्नो मोबाइलबाट ८३ण्ट३ डायल गर्नुपर्छ । यसरी डायल गर्दा ईआईडी लेखिएको सङ्केतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘एड मोबाइल प्लान’ वा ‘एड डाटा प्लान’ देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने कम्पनीको भनाइ छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने बताइएको छ ।

के हो ई–सिम ?

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (एम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरबेल डिभाइस) हरूमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published.