बालेनकाे डाेजर : हटाइयो वीर अस्पताल अगाडिका औषधि पसल !

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । आज बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।

अनधिकृत संरचनामा फार्मेसी रहेका थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको बताएको छ ।

सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा थियो । तर, वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

तर, महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए ।

बिहीबार दिउँसो २ बजे डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पतालअघिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ । सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ ।

योसँगै वीर अस्पतालअघिका अधिकांश औषधि पसल विस्थापित भएका छन् । योसँगै वीर अस्पतालका बिरामी र उनीहरुका आफन्तलाई वीर अस्पताल आसपास औषधि किन्न भने सकस हुनेछ ।

Leave a Reply

Your email address will not be published.