राप्रपा प्रवेश गर्न रवीन्द्र मिश्रको बाटो खुल्यो

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिने भएको छ ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने सहमति भएको लिङ्देननिकट एक पदाधिकारीले जानकारी दिए ।

उनका अनुसार मिश्रले वरिष्ठ उपाध्यक्ष पद लिन चाहेको र सोही अनुसार पद दिने शीर्ष नेताहरूबीच सहमति भएको छ ।

अब लिङ्देन र मिश्रबीच एक चरणको औपचारिक छलफल र सहमति पछि मिश्रसँगै मिश्र निकट समूह राप्रपामा प्रवेश गर्ने बताइएको छ । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।

मिश्र राप्रपा प्रवेश गरी हलो चुनाव चिन्हबाट काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन्। मिश्र २०७४ मा पनि यही क्षेत्रमा चुनाव लडेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।

राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले समान विचार भएकाहरूसँग एकता र सहकार्य गर्ने निर्णय गर्दै मिश्र लगायतलाई पार्टीमा प्रवेशको ढोका खुलासमेत गरेको छ।

राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्नेबारे पनि छलफल गरिरहेको छ।

केही समयअघि बालकोट पुगेर अध्यक्ष लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा छलफल गरेका थिए। राप्रपा र एमालेबीच चुनावी तालमेल भए काठमाडौं १ मा चुनाव लड्न सहज हुने मिश्रनिकटले बताउँदै आएका छन्।

स्थानीय चुनावको परिणाम सोचेअनुसार नआएपछि मिश्रले विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए। मिश्रले राप्रपामा प्रवेश गर्दा विवेकशील साझाका केही नेताहरूलाई पनि आफूसँगै ल्याउने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published.