नेपाल-भारत सीमामा पर्खाल लगाउनुपर्छ : वामदेव गौतम

बर्दिया । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।

०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले सोमबार कान्तिपुरसँग बोल्दै उक्त कुरा बताएका हुन् ।

‘म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल-भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ ।’

पर्खाल लगाउँदा आधा-आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।

अर्को एक जिज्ञासामा उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘म बाजुन्जेल राजनीति गर्छु ।’

०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए ।

‘विदेशबाट आएकाले त्यही देशको नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।’

निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी

आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी भएको छ । निर्वाचन आयोगले आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरिएको जनाएको छ ।

“आयोगले निर्णय गरिसकेको छैन । तर, आचारसंहिता लागु गर्ने तयारी भइरहेको छ, ” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

निर्वाचन खर्चसीमाबारे दलहरूको छलफलमा आचारसंहिताबारे पनि उठाएका कुरा हेरेर आयोगले निर्णय गर्ने स्रोतले बताएको छ । राजनीतिक दलहलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *