मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्रै हो : केपी ओली

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको दाबी गरेका हुन् ।

उनले निर्वाचन लड्ने आँट एमालेले मात्र गर्ने र एमाले म्याराथन दौडिने पार्टी भएको जिकिर पनि गरेका छन् ।

सो अवसरमा अध्यक्ष ओलीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा केही सीटमा अरू विचार मिल्ने पार्टीसँग सहमति कायम हुनसक्ने स्पष्ट पारेका छन् ।

यस्तै निर्वाचनको घोषणा भइसकेपछि अहिलेको सरकार कामचलाउ भइसकेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न चेतावनी पनि दिएका छन् ।

अध्यक्ष ओलीले एमालेले अहिलेसम्म आसन्न निर्वाचनका लागि उमेदवारको अन्तिम छनोट नगरेकाले बाहिर आएका विभिन्न थरीका हल्लामा कुनै सत्यता नभएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *