एकै दिन ५० केजी सुनका गहना बिक्री !

काठमाडौं । विवाहको लगन तथा विभिन्न चाडपर्वको समयमा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तीज लागेसँगै दसैँ, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढेपछि अभाव देखिएको हो ।

अहिले बजारमा सुनचाँदीको माग उच्च छ । तर, सुनचाँदी व्यवसायीहरूले ग्राहकहरूको माग अनुसार सुनका गहरगहनाहरू उपलब्ध गराउन नसकेको व्यापारीहरू बताउँछन् ।

उनीहरूले सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरू मारमा रहेको बताए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए ।

उनले ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरू मारमा परेको गुनासो गरे । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहना बिक्री हुने बताए ।

अध्यक्ष शाक्यले दसैँँपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताए । उनले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको बताए । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखे पनि चासो नदिएको गुनासो गरे ।

अध्यक्ष शाक्यले धार्मिक परम्परागत रुपमा मानिसले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको बताए ।

उनले धार्मिक आस्था अनुसार धनको रुपमा सुन, चाँदीका विभिन्न सामग्रीहरूको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए ।

धनधान्यकी देवी लक्ष्मीलाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने गरेको छ । उनले अहिले दैनिक २ सयदेखि ३ सय किलोसम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताए । उनले यसवर्ष भने विगतको तुलनामा कारोबार भने कम हुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *