डिभोर्स गरेका श्रीमानको काजकिरिया

झापा । डिभोर्स भएका श्रीमानको काजकिरिया गरेर झापाकी एक महिलाले उदाहरणीय काम गरेकी छिन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ की सीता खड्काले सम्बन्धविच्छेद गरेका पतिको मृत्यु संस्कार गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी हुन् ।

दुबईमा रहेका उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै गत असोज ८ गते निधन भएको थियो । असोज २९ गते बस्नेतको झापा ल्याइ अन्तिम संस्कार गरिएको थियो । त्यसलगत्तै सीता १३ दिन किरिया बसेकी हुन् ।

कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको सीताले बताइन् । उनका १६ वर्षकी छोरी र ७ वर्षका छोरा छन् ।

कात्तिक नाच सुरु

ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरु भएको छ ।

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यस वर्ष १० दिनसम्म चल्नेछ । कात्तिक नाच संरक्षण समितिका अनुसार सुरदास प्याँख देखाएर कात्तिक नाच सुरु भएको हो ।

विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक–फरक नाचहरु देखाइने गरिन्छ । नाचमा दैत्य जगाउने परम्परा छ ।

कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार कात्तिक २० गते देखाइनेछ ।

यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *