निर्वाचनमा खटिंदै छन् दुई लाख ४६ हजार कर्मचारी

काठमाडाैं । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक करीब दुई लाख ४६ हजार कर्मचारी परिचालन हुने भएका छन्।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने व्यवस्था रहेको छ।

संविधान तथा निर्वाचन सम्बन्धी कानूनमा आयोगको जिम्मेवारी बमोजिमका कार्यसम्पादनका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने व्यवस्था रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत, एक जना, लेखा अधिकृत वा लेखापाल एक जना, सहायक कर्मचारी एक जना रहनेछन्।

यस्तै, कम्प्युटर अपरेटर एक जना, सवारी चालक एक जना, सहयोगी कर्मचारी दुई जना, निजी सुरक्षा अधिकारी एक जना गरी नौ जना रहनेछन्। निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी दरबन्दी रहनेछन्।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन कार्यविधि), २०७९ मा भएको व्यवस्था अनुसार २५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक-एक जनासहित नौ जना, २५१ देखि ५०० सम्म मतदाता भएका मतदान केन्द्रमा

मतदान अधिकृत र सहायक मतदान अधिकृत एक-एक जना सहित ११ जना कर्मचारी रहनेछन्। ५०० भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक रहनेछन्। कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था रहेको छ।

मतपत्र रुजु गर्ने, प्याकेजिङ गर्ने तथा मतदान अधिकृतलाई मतपत्र बुझाउने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनका लागि मतदाता संख्याका आधारमा राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी काजमा ल्याउन सक्नेछ।

सोका लागि १५ हजारसम्म मतदाता भएका निर्वाचन क्षेत्रको लागि एक जना, १५ हजार एकदेखि ३० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रको लागि दुई जना, ३० हजार एकदेखि ३५ हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि तीन जना, ३५ हजार एकदेखि ६० हजारसम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि चार जना, ६० हजारदेखि ७५ हजार सम्म मतदाता भएको निर्वाचन क्षेत्रका लागि पाँच जना, ७५ हजारभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रका लागि ६ जना कर्मचारी काजमा ल्याउन सकिनेछ।

आयोगले निर्वाचन कार्यालयको मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा दुई महीनाका लागि कर्मचारी काजमा लिन सक्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *