पूर्व माओवादीहरू सबै एकै ठाउँमा, डा. बाबुराम भट्टराईले गरे यस्ताे उद्घाेष

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्न सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उमेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

“जबसम्म लोकतान्त्रिक गणतन्त्रको जरो गाडिँदैन, यसको जगमा विकास र समृद्धिको न्यूनतम आधार तयार हुँदैन त्यतिबेलासम्म हामीले फेरि सहकार्य गरेर जानुपर्छ,” उनले भने । उनले जनताका आकांक्षाहरू दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गरे ।

अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्यूनतम आधार तयार नभएसम्म माओवादीहरू मिलेर सहकार्य गर्नुको विकल्प नरहेको बताए ।

“अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍याैँ । त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरू तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे । कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो,”

भट्टराईले भने, “यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ ।”

अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुशीयाली भएको दाबी गरे । समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणाी भूमिका खेल्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *