डडेलधुरामा प्रतिस्पर्धी देउवालाई स्वागत गर्न सागर ढकाल फूलमाला लिएनर लाइन बसेपछि…

डडेलधुरा । संयोगवशका कतिपय घटनाक्रमहरूले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी बनेका छन् स्वतन्त्र उम्मेदवार सागर ढकाल ।

निर्वाचन प्रचारप्रसारको समय सुरू भएसँगै उम्मेदवार समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेलधुरा पुगेका छन् भने प्रतिस्पर्धी सागर ढकाल केही दिनदेखि डडेलधुरामै छन् । बिहीबार डडेलधुरा पुगेका देउवालाई सागर ढकालले भने मित्रवत् स्वागत सम्मान गरेर अर्को चर्चा कमाएका छन् ।

देउवाको स्वागतका लागि बिहीबार उनी कांग्रेसका कार्यकर्तासँगै लामबद्ध भएको तस्वीरहरू सार्वजनिक भएका छन् । उनी माला लिएर देउवाको स्वागतका लागि लाइनमा उभिएको तस्वीरमा देखिन्छन् ।

२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् र प्रभावकारी चुनावी तयारी समेत गरिरहेका छन् ।

दाङको सबैभन्दा अग्लो स्थानमा एमालेको पहिलो चुनावी सभा गरिदै

नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं ३ (१) ले पहिलो चुनावी सभा सबैभन्दा अग्लो स्थानमा गर्ने भएको छ ।

विपक्षी गठबन्धन भन्दा चुनावी मोर्चामा अग्रपङ्क्ति र उचाइमा भएकाले तुलसीपुर–३ स्थित थर्कोटमा पहिलो चुनावी सभा गर्न लागेको नेकपा एमाले क्षेत्र नं ३ निर्वाचन परिचालन समितिका संयोजक मेघराज भुसालले जानकारी दिए ।

थर्कोट दाङको सबैभन्दा अग्लो स्थानमा पर्दछ । त्यहाँ आयोजना गरिने चुनावी सभाले सबैभन्दा विकटमा पर्ने थर्कोटको विकास र प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पुर्याउने संयोजक भुसालले बताए ।

कुनै पनि शुभकार्यको थालनी थर्कोटबाट सुरुवात गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक जनविश्वास समेत रहेको छ । सिद्ध बाबाले सिद्धि प्राप्त गरेको थर्कोटमा लामो समयसम्म खडेरी पर्दा पानी पार्नका लागि त्यहाँ गएर पञ्च बल हान्ने प्रचलन वर्षौँदेखि चल्दै आएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनको समयमा तत्कालीन मेयरमा उठेका प्रस्तावित मुख्यमन्त्री तथा प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले थर्कोटमा गएर पूजाआराधना गरेका थिए ।

भोलि शुक्रबार बिहान ११ बजे उद्घाटन गरिने चुनावी सभालाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल ओली, प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

ओली र पाण्डे केन्द्रीय सदस्य र एउटै वडाका बासिन्दा हुन् । एउटै वडाबाट प्रतिनिधि र प्रदेश सभामा दुई जनाले टिकट पाएपछि वडाबासी उत्साहित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *