निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार सुरु, प्रचारमा को काे जान पाउँदैनन् ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ ।

आजदेखि दल तथा उम्मेदवारले प्रचारप्रसारका लागि जुलुस, आमसभा र कोणसभा सुरु गरेका छन् । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (म) मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत

जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ । चुनाव प्रचार विहान ८ देखि साँझ ५ बजेसम्म मात्रै गर्न पाइने छ ।

निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने छ ।

आयोगले संघीय वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा आचारसंहिता पालना गर्न आग्रह गरेको छ । निर्वाचनमा आफैँ उमेदवार भएका मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् ।

त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने नपाइने आयोगले जनाएको छ । संघीय सरकारका मन्त्रीले आयोगको सहमति लिएर सम्बन्धित प्रदेशभित्रको स्थानमा प्रचारप्रसारमा जान पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा प्रचारप्रसारको काममा संलग्न हुन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *