मंसिर ४ पछि केपी ओली नेतृत्वको सरकार बन्ने निश्चित: कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ गतेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताएका छन् ।

नेकपा एमालेको हेटौंडामा शुक्रबार भएको चुनावी सभामा बोल्दै एमालेबाट मकवानपुर-१ का उम्मेदवार समेत रहेका थापाले देशभरका राष्ट्रवादी जनताले ओली नेतृत्वको सरकार हेर्न चाहेको भन्दै मंसिर ४ पछि ओली नेतृत्वको राष्ट्रवादी सरकार बन्ने दाबी गरे ।

मकवानपुरको विकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरको विकासले गति लिने भएकै कारण आफु सूर्य चिन्हबाट उम्मेदवार बनेको थापाको भनाई रहेको थियो ।

जाजरकोटका सबै पालिकामा नमूना मतदान

जाजरकोटका सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो ।

भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए । पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त मतदान गरिएको उनको भनाइ थियो ।

त्यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मङ्सिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको छ ।

जिल्ला प्रशासनको आदेशमा सबै गतिविधि स्थागित गराइएको हो । मङ्सिर ४ गतेको चुनावलाई लक्ष्य गर्दै सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले बताए ।

त्यस्तै सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनका लागि पश्चिम जाजरकोटको वडावनमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ ।

उक्त क्याम्पबाट पश्चिम क्षेत्रको सुरक्षा व्यवस्था मजबुद हुने अपेक्षा गरिएकोे छ । अहिले रहेका सबै सुरक्षाका कार्यालय क्षेत्र नम्बर १ मै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *