‘आरजु म्याडम’लाइ कसले बनायाे हाँसोमजाकको पात्र

काठमाडौं । अनेक कारण चर्चामा आइरहने प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी एवं काँग्रेस नेतृ डाक्टर आरजु देउवाले डडेल्धुरामा पुगेर गरेको भाषण यतिबेला निकै चर्चामा छ ।

आरजुले हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन मतदातालाई आग्रह गरेपछि उनको भाषणलाई लिएर अनेक खाले टिकाटिप्पणी भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै चुनावी सभामा सहभागी हुन गृह जिल्ल्ला डडेल्धुरा पुगेकी आरजुले शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन्।

उनले आफ्ना पतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नाम त लिइनन्, तर उनलाई संकेत गर्दै भाषण गरेकी थिइन् । आरजुको अभिव्यक्ति पटकपटक विवादमा आउने गरेको छ । स्थानीय तह निर्वाचनमा पनि उनले कांग्रेसले नजितेको स्थानमा सरकारको बजेट नै नपठाउने भनी भाषण गरेकी थिइन् ।

यसैगरी, धनगढी उपमहानगरपालिकामा महिलाहरुको कार्यक्रममा वैदेशिक रोजगारीका लागि सित्तैमा मलेसिया पठाउने प्रलोभन दिएपछि विवाद भएको थियो ।

प्रधानमन्त्री देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा छन् । उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए।

सात वटा पालिकाका चुनावीसभा सकेर उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिए । प्रधानमन्त्री देउवा सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको पनि उनका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *