यस्ताे छ एमाले उम्मेदवार विष्णु पौडेलकाे घोषणापत्र

बुटवल । ४ मंसिरमा हुने चुनावका लागि रुपन्देही–२ मा नेकपा एमाले, राप्रपा र जनता समाजवादी पाटीृको गठबन्धनले निर्वाचन क्षेत्र केन्द्रित घोषणापत्र ल्याएको छ ।

आइतबार बुटवलमा प्रतिवद्धता सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले भविष्यमा रुपन्देही २ मात्र नभई जिल्लालाई नै विकासको रोलमोडेल बनाउने घोषणा गरे ।

प्रतिवद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ ।

यस्तै सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना कार्यान्वयन, तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

यस्तै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

प्रतिवद्धतापत्रमार्फत पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण, बुटवलको तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने उल्लेख छ ।

यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने,

पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक शहरमा पुनरुत्थान तथा विकसित गरिने, जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने बुंदागतरुपमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *