सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुईसय रुपैयाँले घटेको छ ।

गत कारोबार दिन आइतबार तोलामा ९४ हजार पाँचसय रुपैयाँमा कारोबार भएको सुन आज ९४ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । गत कारोबार दिन तोलामा १ हजार २७५ मा कारोबार भएको चाँदी आज १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेप्से ४३ अंकले बढ्यो, लघुवित्त कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबार ४३.२० अंकले बढेर बन्द भएको छ । गएको बिहीबारको तुलनामा नेप्से यस दिन २.२५ प्रतिशतले बढेर १९६५.३६ विन्दु कायम भएको हो । कारोबार रकम पनि बढेको छ ।

आइतबार २२८ धितोपत्रका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । पछिल्लो समय विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । त्यसले गर्दा पनि राम्रो प्रतिफल दिन सक्ने कम्पनीको सेयर मूल्य बढ्दा दैनिकजसो कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढिरहेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स पनि बिहीबारको तुलनामा २.१३ प्रतिशतले वृद्धि भएर ३८७.५२ विन्दु कायम भएको छ । कतिपय कम्पनीको सेयर मूल्य पनि बढ्न थालेको छ ।

आइतबार लघुवित्त समूहका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । गएको शनिबार करिब ७७ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य यस दिन १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०९ रुपैयाँ ९० पैसाले बढेर तीन हजार ४०८ रुपैयाँ ९० पुगेको छ ।

यस्तै, मानुषी लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी बाहेक मनकामना स्मार्ट र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस दिन म्युचुअल फन्ड समूहको इकाई मूल्य र ऋणपत्रको मूल्य भने घटेको छ ।

सर्वाधिक रकमको सेयर खरिद–बिक्री नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यो कम्पनीको १० करोड १४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आइतबार कारोबारमा आएका १३ समूमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ४.५८ प्रतिशतले वृद्धि भएको छ ।

यो दिन ‘अन्य’ समूह र वित्त समूहको परिसूचक पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *