काे बन्ला लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री ? यी हुन् लर्काे लाग्नेहरू !

काठमाडाैं । लुम्बिनी प्रदेशमा प्रमुख तीन पार्टीका नौ जना नेता भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा चुनावी प्रचारमा जुटिरहेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै लुम्बिनी प्रदेशको भावी मुख्यमन्त्रीबारे अहिले नै अड्कलबाजी गर्न थालिएको छ। प्रमुख पार्टीका उम्मेदवार पनि आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा पेश गरेर चुनावी प्रचारमा जुटिरहेका छन्।

विशेष गरेर नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नौ जना नेता मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका छन्। २०७४ सालको निर्वाचनमा एमालेले स्पष्ट बहुमत पाएको थियो। एमाले र माओवादीको सरकार बनेको थियो।

यस पटक एमालेबाट पोलिटब्यूरो सदस्य तथा लुम्बिनी कमिटीका सहइन्चार्ज लीला गिरी मुख्यमन्त्रीको प्रबल दाबेदार छन्। उनी यसअघि प्रदेशको पर्यटन तथा वन, वातावरण मन्त्री भएका थिए।

अहिले गिरी रुपन्देही २ ‘क’ बाट उम्मेदवार बनेका छन्। २०७४ सालको निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले २१ हजार ७३४ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत पाएका थिए।

एमाले नेताहरूका अनुसार, मुख्यमन्त्री बनाउने आश्वासन पाएपछि उनी पुनः प्रदेश सभा सदस्यको उम्मेदवार बनेका हुन्। उनी भने अहिले एमालेमा मुख्यमन्त्री को बन्ने भन्ने बहस गर्न आवश्यक नरहेको तर्क गर्छन्। “पहिला युद्ध जितौं, त्यसपछि पार्टीको आवश्यकताका आधारमा मुख्यमन्त्री चयन गरौंला।”

उनीसँगै एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएका छन्। उनी रुपन्देही १ ‘ख’ बाट उम्मेदवार बनेका छन्।

पूर्व माओवादी नेता न्यौपानेले एमाले र माओवादी ब्युतिंदा एमाले रोजेका थिए। उनी पनि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यति वेला उनले एमालेको समर्थनमा १३ हजार ९४ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी हरि न्यौपानेले ११ हजार १०८ मत पाएका थिए। यति वेला भने कांग्रेसका तर्फबाट अब्दुल रज्जाक प्रतिस्पर्धामा छन्। २०७४ सालमा भने उनी प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।

त्यस्तै, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेय पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा चुनावी प्रचारमा जुटेका छन्। दाङ ३‘क’ बाट प्रदेश सभा सदस्यका उम्मेदवार पाण्डेय प्रतिनिधि सभा सदस्यका आकांक्षी थिए। मुख्यमन्त्रीको आश्वासन दिएर नै उनलाई प्रदेशमा उम्मेदवार बनाइएको एमाले नेताहरू बताउँछन्। पाण्डेय तुलसीपुर उपमहानगरका पूर्व मेयर पनि हुन्।

उनको प्रतिस्पर्धामा गठबन्धनबाट कांग्रेस नेता डिल्लीबहादुर चौधरी छन्। उनी लुम्बिनीका ग्रामीण तथा पर्यटन मन्त्री हुन्।

कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, दाङका डिल्लीबहादुर चौधरी, रोल्पाका अमरसिंह पुन र रुपन्देहीका अब्दुल रज्काईलाई हेरिएको छ। कनौडिया यसअघि प्रदेश संसदीय दलको नेता थिए।

शंकर पोखरेल नेतृत्वको एमाले सरकार ढलेपछि माओवादीका कुलबहादुर केसी मुख्यमन्त्री बने। त्यति वेला आलोपालो सरकारको नेतृत्व गर्ने र कनौडिया मुख्यमन्त्री हुने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन भएन।

यस पटक भने उनी मुख्यमन्त्रीको प्रमुख दाबेदारका रूपमा कपिलवस्तु ३ ‘ख’ बाट उम्मेदवार बनेका छन्। उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

कनौडियाले ६ हजार ६८४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी माओवादीका जावेद आलम खाँले ६ हजार ३०७ मत पाएका थिए। अहिले उनलाई माओवादीको पनि समर्थन छ। यो निर्वाचनमा उनका प्रतिस्पर्धी एमालेका रजाउ रहमान खाँ छन्।

त्यस्तै, लुम्बिनीका पर्यटन मन्त्री चौधरीलाई पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ। उनी २०७४ सालको निर्वाचनमा दाङ ३‘क’ बाट निर्वाचित भएका थिए। उनले १७ हजार ३५ मत पाएका थिए भने प्रतिस्पर्धी माओवादीका जगप्रसाद शर्माले १४ हजार ६१८ मत पाएका थिए।

यस्तै, रुपन्देही १‘ख’ बाट उम्मेदवार अब्दुल रज्जाकलाई पनि कांग्रेसमा मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ। उनी गृहमन्त्री बालकृष्ण खाँणका विश्वासपात्र मानिन्छन्। मुख्यमन्त्री बनाउने आश्वासन दिएर नै उनलाई प्रदेशमा उम्मेदवार बनाएको कांग्रेस नेताहरू बताउँछन्।

२०७४ सालको निर्वाचनमा रज्जाक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। उनी एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए। विश्वकर्माले ३४ हजार ७५५ मत पाएका थिए भने रज्जाकले २६ हजार ८८५ मत पाएका थिए। यस पटक उनका प्रतिस्पर्धी एमालेका दधिराम न्यौपाने छन्।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा चर्चा गर्न थालिएको छ। उनी रोल्पा १ ‘ख’ बाट उम्मेदवार बनेका छन्।

२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा माओवादीका वर्षमान पुनसँग पराजित भएका थिए। वर्षमानले ४२ हजार ८४ मत पाएका थिए भने अमरसिंहले २० हजार ३७७ मत पाएका थिए।

यस पटक भने उनका प्रतिस्पर्धी एमालेका प्रेम घर्ती छन्। माओवादी नेता दीपेन्द्रकुमार पुन मगर स्वतन्त्र उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। गठबन्धनबीचको तालमेलमा यो क्षेत्र कांग्रेसको भागमा परेपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका हुन्।

माओवादीबाट पनि दुई नेता मुख्यमन्त्रीको दाबेदार छन्, प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बराल र पोलिटब्यूरो सदस्य जोखबहादुर महरा। गुल्मी १‘क’ बाट उम्मेदावर बराल २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यति वेला बरालले १७ हजार ९१० मत ल्याएका थिए भने प्रतिस्पर्धी कांग्रेसका पृथबहादुर फौदारले १३ हजार २९९ मत पाएका थिए।

यति वेला उनलाई कांग्रेसको समर्थन छ। अघिल्लो निर्वाचनमा सघाएका एमालेका पर्शुराम पाण्डेय प्रतिस्पर्धी बनेका छन्।

यस्तै, रोल्पा १ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेका महरालाई पनि माओवादीभित्र मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ। अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव समेत रहेका महरा मुख्यमन्त्रीको आकांक्षा बोकेरै प्रदेश उम्मेदवार बनेको जनाइएको छ। यो क्षेत्रमा एमालेबाट कमलबहादुर बुढाथोकी उनका प्रतिस्पर्धी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *