माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता आईसीयूमा, कस्ताे छ अवस्था ?

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालकाे तीन दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको छ।

उनलाई कात्तिक १९ गते ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो। शनिबार बिहान २ बजे शरीरमा अक्सिजनको मात्रा घटेपछि अस्पताल भर्ना गरिएको उनकी छोरी गंगा दाहालले बताइन्।

गंगाका अनुसार, सीताको स्वास्थ्यमा सुधार भइरहेको छ। “पुरानै रोगका कारण स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरेका हौं। अहिले ठीक हुँदै गएको छ,” गंगाले हिमालखबरसँग भनिन्।

मेडिसिटी अस्पतालका जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार, उनलाई आईसीयूमा राखिएको छ। विशेषज्ञ चिकित्सकको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ।

सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट लामो समयदेखि पीडित छन्। त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ।

चिकित्सकहरूका अनुसार, पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो। रोग यो पूर्ण रूपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ।

उनलाई यसअघि पनि कात्तिक पहिलो साता स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। केही दिनको उपचारपछि घर फर्किएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *