डोटीको भूकम्प: उद्धारमा सेना र प्रहरी, प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क छैन

काठमाडौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ। रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् ।

डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।

यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारीदिए। त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाका मदनराज जोशीले जानकारी दिए।

यसैबीच डोटीका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले भूकम्पबाट पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गरेका छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पदम बोहराको घर भत्किँदा उहाँकी श्रीमती ३५ वर्षीया भगवती बोहरा, १२ वर्षीया छोरी सीता, सात वर्षीय छोरा हर्क बोहराको च्यापिएर मृत्यु भएको थियो । पदम बोहरा भने हाल भारतमा छन्।

यसैगरी सोही ठाउँका प्रेम बोहराको घर भत्किँदा निज बोहरासहित उहाँकी छोरी तुल्सी र धनसरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए। घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ ।

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पू¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ ।

गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । राससका अनुसार, उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *