डोटी भूकम्प पीडितलाई एमालेले १ लाख दिने

डोटी । नेकपा (एमाले) डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एमाले जिल्ला अध्यक्ष चक्र मल्लले उक्त सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरूलाई भेटेका मल्लले

भूकम्प पीडितहरूको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको जानकारी दिए । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताए ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भीर घाइते भएका छन् ।

डोटीमा भूकम्प : उद्धार, उपचार र राहतको तत्काल व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले मृतकका परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी पनि गराएका छन् ।

“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु,” उनले ट्विटरमा लेखेका छन्, “साथै, प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि सो भूकम्पमा परी मृत्यु भएका ६ जनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत नै उनले शोकमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जलमार्फत नै उनले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले घाइतेहरूको यथाशीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल पहल गर्न र प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपील समेत गरेका छन् । प्रभावितको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका सदस्यहरूलाई निर्देशन पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *