चुनावको चटारो

हरिपूर्व निरौला
[email protected]
भर्खरै हाम्रा महान सांस्कृतिक चाडहरु वडा दशैैं, तिहार, छठ तथा नेपाल संवत सकिएका छन् । सबैले आआफ्नो जन्मथलो गाउँठाउँ, भेषभुषा रैथाने रहनसहन रितिरिवाज अनुसार पर्वहरु मनाएर कर्मभूमीमा फर्केर दैनिकी पुरानै लयमा फर्किदैछ ।

यसैबीचमा हाम्रा अगाडि देशको भविष्य निर्धारण गर्ने एउटा ठूलो चाड वा अवसर आइरहेको छ । त्यो हो यही मंसिर ४ गते हुने ‘आम निर्वाचन’ । प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन देशभर एकै चरणमा हुँदैछ । देशभर चुनाबी चटारो चलिरहेको छ ।

यस पटक विभिन्न विश्लेषक र आलोचकको कुरा सुन्दा अनि स्थानीय जनताको आवाज सुन्दा सबैतिर युजा अनुहारलाई प्राथमिकता दिइरहेको देखिन्छ । तर पनि चुनावी माहोलमा ठूला ३ दिन आआफ्नै तालमा अगाडि बढीरहेका छन् भने स्वतन्त्र उम्मेदवारको पनि प्रभाव राम्रै परिरेहेको जगजाहेरै छ । यसमानेमा यसपटकको निर्वाचन निकै रोमाञ्चक हुने आँकलन गर्न थालिएको छ ।

सबैका आआफ्ना एजेण्डा छन्, सबै प्रतिनिधि उम्मेदवारहरु सकेसम्म आफ्नो क्षेत्रका सबै जनतालाई मनका घ्यूमा चोपेर खुवाउन व्यस्त छन् । तर यस पटक जनता सचेत भइसकेका छन् । सबैका मनका लड्डु त जनताले ग्रहण गर्नैपर्छ तर कसको लड्डुले बढी असर गर्ने हो भन्ने कुनै निश्चित छैन ।

सबै पूराना उम्मेदवारको मनका एक किसिमको डरको ढ्याङ्ग्रो बजिरहेको सजिलै अनुमान लगाउन सकिन्छ । सबै दलका नेता तथा कार्यकर्ता सातै प्रदेश ७७ जिल्लामा रहेका प्रमुख अड्डामा चुनावको प्रचारमा छन् । उम्मेदवारलाई घरदैलो गर्न भ्याइनभ्याइ छ । एक थरी मतादाता फकाउन व्यस्त छन् ।

कतिपय ठाउँमा उम्मेदवार त आफ्नो ५ वर्षे कार्यकालमा एक पटक पनि आफ्नो निर्वाचन क्षेत्रको भ्रमण नगर्ने अनि चुनावको मौकामा मात्र जाने गरेको जनगुनासो छ । विभिन्न क्षेत्रमा देशको प्रमुख कार्यकारी पद प्रधानमन्त्री खाइसकेका नेताहरु पनि छन् । उनीहरुको पनि ताल त्यस्तै छ । सायद एउटै ड्याङका ….. भएर होला ।

ठाउँठाउँका जनगुनासो यस्तो छ कि ५ वर्षमा एकपटक पनि आउने भोट लिएर जाने फेरि जितेको अर्को दिनबाट न त कुनै विकासको एजेण्डा कार्यान्वयन छ न त त्यकहाँका भोटरप्रतिको दायित्व नै निर्वाह भएको छ । यस्ता अनेकौं प्रश्न र गुनासाहरु छन्, हरेक क्षेत्रका मतदाताका ।

चुनाव जस्तो एटा देशको नेता प्रतिनिधि रोज्ने अनि नीति नियम बनाउने देशको भविष्य जोडिएको पर्व र अवसरलाई राजनीतिको फोहरी खेलको दलदल बनाइदा चुनावमा मतदाताको सङ्ख्या प्रसस्तै भए पनि भोट दिन जागरुक हुने नागरिक कम हुन थालेका छन् । भोट जहाँ जसलाई हाले पनि के नै हुन्छ र भन्ने एक खालको मानसिकता विकास हुन थालेको छ अधिकांश मतदातामा ।

यो मूलुकको आधा तन्नेरी पुस्ता वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर छ । धेरैजसो खाडीका छन् । देशभित्रै रहेका मतदाता पनि निर्वाचन क्षेत्रभित्र छैनन् । विभिन्न शिलशिलामा प्रमुख शहर केन्द्रित छन् । कोही पूर्व कोही पश्चिम हुनुपर्ने बाध्यता छ ।

यस्तो वैज्ञानिक युगमा पनि सरकारले विभिन्न ठाउँमा रहेका आफ्ना मतदातालाई सर्वसुलभ र भरपर्दो माध्यम उपलब्ध गराइर मतदानमा सहभागी गराउन सकेको छैन । वर्षौदेखि अनलाइन भोटिङको कुरा उठेपनि कार्यान्वयन हुन सकेको छैन । अनलाइन भोटिङको व्यवस्था गर्ने हो भने धेरैभन्दा धेरै नागरिकलाई मतदानमा सहभागि गराउन सकिन्छ । सक्षम उम्मेदवारले मात्र विजय हासिल गर्न सक्ने थिए ।

मुलुकको मुहार फेर्न नागरिकको मतको पनि महत्वपूणर् भुमिका हुन्छ । सक्षम नेतृत्व नआएसम्म देश समृद्ध हुन सक्दैन । समृद्धिको सपना साकार पार्न पहिला सक्षम र सही नेतृत्व चयन हुन जरुरी छ । भ्रष्ट नेताबाट कहिल्ले पनि समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुन सक्दैन ।

तर, यही व्यवस्था यही नेतृत्व र यही प्रवृति कायम रहेसम्म यो देशको त्यस्तो व्यवस्था हुने छाँट छैन । सरकारले यस्तो संयन्त्रको विकास गर्ने देखिदैन किन कि मदिरा र मासुका भरमा भोट जिन्ने बानी धेरैलाई परिसकेको छ । नयाँ मतदाता गम्भीर छैनन् । एक सेल्फी, एउटा टिकटकका लागि भिडियो पाएकै भरमा भोट हाल्न हौसिन्छन् ।

सामाजिक सञ्जालको दुरुपयोग उस्तै छ । यो मंसिर ४ को आम चुनावमा यस्ता हर्कत नगरौं मदिरा र मासुमा भोट नबेचौं । अमूल्य मतत देश र जनताको हितका लागि कटिबद्ध, सक्षम, इमानदार उम्मेदवारलाई जिताऔं ।

अबको राजनीतिमा देशको भविष्य देख्न सक्ने नीति, दूरदर्शी उम्मदवारलाई छानौ । पौरखी नेपाली पलायन हुनबाट बचाउन पर्‍यो, सबैले । सधै अर्कोको मुख ताकेर मात्र हुँदैन तपाईँ हामीबाट नै यसको सुरुवात गर्ने समय आइसकेको छ ।

देशको आर्थिकमन्दि बढ्दो छ । नेता र देशका सेवक भनाउँदाहरु बोरामा पैसा बोकेर भोट किन्न गाउँटोलका गल्ली गल्ली घुमिरहेका छन् । त्यसैले अब देश बनाउने पालो युवाको बुढालाई सल्लाहकार राखेर देशको बाघडोर सम्हाल्ने जिम्मा युवालाई दिनुपर्छ ।

हामी युवा भावनात्मक रुपमा मुलुकका लागि एक भएर सोच्नुपर्छ लाग्नुपर्छ । समृद्ध नेपालको परिकल्पना साकार पार्न जोड दिउँ । स्वावलम्बी, आत्मनिर्भर बनौं । भ्रष्टहरुको अन्त्य गर्ने बेला आएको छ । नयाँ नेपाल निर्माणको सपना बुनौ ।
जय देश जय जनता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *