डा. तोसिमालाई घण्टी नबजाउन आयोगको निर्देशन !

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचार प्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

घण्टी बजाएर प्रचारमा हिँडदा ध्वनी प्रदूषण भएको भन्दै उजुरी परेको भन्दै आयोगले घण्टी नबजाउन निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको दाबी गरेको छ । ‘उहाँहरुलाई केही साताअघि यसबारेमा स्पष्टीकरण सोधेको हो’ निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले भने, ‘उहाँहरुका बारेमा कुनै निर्णय भएको छैन, निर्देशन गएको पनि होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *