एमाले अध्यक्ष ओलीमाथि यसरी खनिए माधव नेपाल, भन्छन् ‘मैले बर्बराउँदै हिड्ने बनाएँ’

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको भन्दै चर्को टिप्पणी गरेका छन्।

अरु पार्टीको सदस्यता त्यागेर एकीकृत समाजवादीमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई बिहीबार स्वागत गर्दै नेपालले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप पनि लगाए।

नेता नेपालले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको दावी गरे। उनले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताए।

नेता नेपालले एमाले अध्यक्ष ओलीले झुटा आक्रोश र बदलाको कुण्ठा पोखिरहेको बताए। उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको सुनाए। नेपालले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेको आरोप लगाए।

उनले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ। टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन्। यो त संकलन गर्नुपर्छ।

केके बोले अहिलेसम्म। झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो। उनको अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्य भन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानाशाहीमा यो प्रवृत्ति थियो। त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगे।

आज उनले चुनावमा गरिरहेको अर्बौं अर्ब खर्च कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको श्रोत के हो ? लुट र भ्रष्टाचार हो। अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन्।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताए। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए। उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे।

उनले भने, ‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही गर्‍यौं। ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्‍यौं। यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरुले नगरेको काम हामीले गरेका हौँ।

बुढापाकालाई पेन्सन दिने काम गरेका छौँ। १०० बाट शुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्‍याउनेछौँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *