माओवादीमा पहिरो: गुल्मीका प्रभावशाली माओवादी नेताहरु एमालेमा प्रवेश

गुल्मी । गुल्मीका प्रभावशाली माओवादी केन्द्रका नेताहरु माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाकी कार्यपालिका सदस्य कमला घर्ती, रेसुङा नगरकमिटीकी सह-सचिब कमला परियार,

पूर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र रेसुङा नगरकमिटी सदस्य इन्दिरा मगर एमालेमा प्रवेश गरेका एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिए ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य गणेश खनाल र जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतका नेताहरूले स्वागत गरेका थिए ।

एमाले प्रवेश गर्दै नेतृ घर्तीले अबको जनताको पार्टी एमाले मात्रै भएकाले विचारहिन पार्टीमा बस्नुको कुनै औचित्य नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको बताइन् । उनले माओवादी केन्द्रले गैर कम्युनिस्टहरुसङ गठबन्धन गरेर सहिदका सपना कुल्चिँदै स्वार्थको पछाडि लागेपछि पार्टी छोड्नुको अर्को विकल्प नदेखेको बताइन् ।

पूर्व जनमुक्ति सेना तथा वाइसीएल जिल्ला सदस्य ज्ञानुराम खनालले ज्यानको बाजी थापेर हुर्काएको पार्टी र व्यवस्थालाई माओवादी नेतृत्वले धरापमा पारेकाले एमालेमा आवद्ध हुन सबैलाई आग्रह गरे । प्रवेश गर्ने सबैले आगामी निर्वाचनमा एमालेले दिएको निर्देशन र जिम्मेवारीलाई दृढताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एमालेमा आवद्ध भएका नेताहरूलाई स्वागत गर्दै एमाले जिल्ला अध्यक्ष काउछाले एमालेविरुद्ध गरिएको घेराबन्दी तोडेर एमालेमा आवद्ध भएका साथीहरूलाई उपयुक्त जिम्मेवारी दिएर अगाडि बढने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *