गुल्मी–१ : एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ चुनावी माहाेल

गुल्मी । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नं १ मा गुल्मीको सदरमुकाम तम्घाससहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कुल दुई लाख २३ हजार ६१५ मध्ये यहाँ एक लाख १९ हजार २८८ मतदाता रहेका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो ।

क्षेत्र नं १ प्रदेशसभा (क) मा ५७ हजार ५७९ र प्रदेशसभा (ख) मा ६१ हजार ७०९ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र दुईमा एमाले विजयी भएको थियो ।

रेसुङ्गाको प्रमुख र उपप्रमुख, गुल्मी दरबारको अध्यक्ष र उपाध्यक्ष, कालीगण्डकीको अध्यक्ष र चन्द्रकोटको उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

छत्रकोटको अध्यक्ष र उपाध्यक्ष, सत्यवतीको अध्यक्ष र उपाध्यक्ष तथा रुरुक्षेत्रको उपाध्यक्षमा एमाले विजयी भएको थियो । रुरु क्षेत्रको अध्यक्ष, चन्द्रकोटको अध्यक्ष र कालीगण्डकीको उपाध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।

यहाँ ५० वडा छन् । २३ वडाध्यक्षमा एमाले, २२ मा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयी भएको थियो । राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक–एक वटामा विजयी भएका थिए ।

स्थानीय तहमा सत्ता गठबन्धनले ३८ हजार ७६२ र एमालेसहितको गठबन्धनले ३५ हजार ८८५ मत पाएको थियो । एमालेभन्दा कांग्रेस गठबन्धनको दुई हजार ८७७ मत बढी छ ।

यहाँ कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धाको सम्भावना छ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारी जित्न सक्छन् ।

तर, स्थानीय तहको मत सुरक्षित नै हुन्छ भन्ने हुँदैन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मत भण्डारीका लागि जितको आधार बन्न सक्छ ।

एमाले विजयी हुन भने सत्ता गठबन्धनको मत तान्नुपर्ने हुन्छ । अघिल्लो पटकको सङ्घीय निर्वाचनमा माओवादी केन्द्रको साथ पाएर एमाले उम्मेदवार ज्ञवाली विजयी हुनुभएको थियो ।

गत स्थानीय तहको निर्वाचनअनुसार प्रदेशसभा (क) मा सत्ता गठबन्धनको १८ हजार २९५ मत छ । एमाले र राप्रपा गठबन्धनको १६ हजार ५५४ मत छ । सत्ता गठबन्धनसित एक हजार ७४१ मत बढी छ । यस क्षेत्रमा मुख्य गरी माओेवादी केन्द्रका सुदर्शन बलाल र एमालेका चिन्तामणि पाण्डेबीच प्रतिस्पर्धाको अवस्था छ ।

कालीगण्डकी, सत्यवती, चन्द्रकोट र रुरु क्षेत्रका २, ५ र ६ वडा यसमा छन् । यहाँ २६ वडा छन् । एमालेबाट निर्वाचित १२, कांग्रेसबाट १० र माओवादी केन्द्रबाट तीन छन् । जनमोर्चाका एक छन् ।

माओवादी केन्द्रका बलाललाई सहज जित निकाल्न वडाध्यक्षले पाएको मत सुरक्षित राख्नुपर्ने चुनौती छ । कांग्रेसको पूर्ण साथसमेत आवश्यक छ । एमालेका पाण्डेलाई जित निकाल्न चुनौती छ । जितका लागि आफ्नो मत सुरक्षित गर्दै गठबन्धनको मत पनि तान्न आवश्यक छ ।

प्रदेशसभा (ख) मा कांग्रेससहित सत्तारुढ गठबन्धनको २० हजार ४६७ मत छ । एमाले र राप्रपा गठबन्धनको १९ हजार ३३१ छ । एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक हजार १३६ मत बढी छ ।

कांग्रेसका धनेन्द्र कार्की र एमालेका फर्सुराम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसमा गुल्मीदरबार, छत्रकोट, रुरु क्षेत्रका १, ३ र ४ र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका ८ वडा पर्दछन् । यहाँ २४ वडा छन् । कांग्रेसबाट निर्वाचित १३ वडाध्यक्ष, एमालेबाट निर्वाचित ११ वडाध्यक्ष छन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसका कार्कीलाई जित निकाल्न सहज छ । उहाँलाई उक्त मत जोगाउन आवश्यक छ । प्रतिस्पर्धी पाण्डेले जितका लागि वडाध्यक्षमा पाएको मत सुरक्षित राखेर सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ ।

छत्रकोट–४ का विष्णुप्रसाद न्यौपाने बिजुली, खानेपानी र सडक आवश्यक रहेको बताउनुहुन्छ । “हामीलाई आधारभूत कुराको खाँचो छ”, उहाँले भन्नुभयो । चन्द्रकोट–८ का रामबहादुर थापा सडक कालोपत्र गर्नुपर्नेमा जोड दिनुहुन्छ । “सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुँदा सास्ती हुन्छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले भौतिक पूर्वाधारलाई मुख्य एजेण्डा बनाएका छन् । कांग्रेसका भण्डारीको सालझण्डी–खर्ज्याङ–तम्घास सडकखण्ड कालोपत्र गर्ने र प्रत्येक स्थानीय तहमा कृषि उद्योग खोल्ने मुख्य एजेण्डा छ ।

एमालेका ज्ञवालीले राष्ट्रिय राजनीति र जिल्लाको मुहार फेर्ने एजेण्डा रहेको बताउनुभयो । उहाँले कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग र रुरु–रुद्रवेणी–वामीटक्सार सडकलाई व्यविस्थत गर्ने बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यस क्षेत्रमा एक लाख ३२ हजार मतपत्र आइपुगेको छ । प्रदेशसभा (क) मा ६६ र (ख) मा ७० हजार मतपत्र आइपुगेको छ ।

कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेका अनुसार यहाँ एक सय ५० मतदान केन्द्र र ८१ मतदानस्थल छन् । जसमध्ये (क) मा ७५ मतदान केन्द र ४५ मतदानस्थल छन् । (२) मा ७५ मतदान केन्द र ३६ मतदानस्थल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *