गण्डकीमा पनि केन्द्रकै नियती, अब प्रदेश सभा विघटन हुन्छ ?

पाेखरा । गण्डकी प्रदेश सभामा बिहीबार विश्वासको मत गुमाएका कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि नयाँ सरकार गठनका लागि फेरि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । उनले मुख्यमन्त्रीमा फेरि दाबी गरेसँगै प्रदेशसभा विघटनको आशंका गरिएको छ ।

गण्डकी प्रदेशमा केन्द्र सरकारकै नियति देखिएपछि प्रदेशसभा विघटन हुनसक्ने अनुमानहरु हुन थालेका छन् । गुरुङले नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका सांसद्हरुको हस्ताइरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । शुक्रबार नै राष्ट्रिय जनमोर्चाले बर्खास्त गरेका सांसद् कृष्ण थापाले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट गरेर फर्किएपछि मुख्यमन्त्रीमा गुरुङले दाबी गरेका हुन् ।
images

प्रदेश प्रमुख पौडेलले शुक्रबार २४ घण्टाको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । उक्त समय सीमा सकिएको छ । विपक्षी गठबन्धले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै शुक्रबार नै बहुमत सांसद् हस्ताक्षरसहित नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका थिए । उनीहरुले नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र सांसद् दीपक मनाङे गरि ३१ सांसद्‌को हस्ताक्षर बुझाएका थिए ।

जनमोर्चाले संसदीय दलका नेता कृष्ण थापालाई कारबाही गरेपछि ५९ सांसद् रहेको प्रदेशसभामा सरकार गठनका लागि ३० सांसद् आवश्यक पर्छ । तर, विपक्षी गठबन्धनले भने आवश्यक बहुमतभन्दा बढी सांसद्को हस्ताक्षर बुझाएका छन् ।

यता कामचलाउ मुख्यमन्त्री गुरुङले जनमोर्चाले कारबाही गरेका थापको हस्ताक्षरसहित मुख्यमन्त्रीमा फेरि दाबी गरेका हुन् ।

यसअघि केन्द्र सरकार निर्माणका क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको नेताको हस्ताक्षर भएको भन्दै प्रधानमन्त्रीमा दाबी गरेपछि यो विषय विवादित बनेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वानमा विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाले बहुमत प्रस्तुत गरेको भए पनि प्रधानमन्त्रीमा दाबी गरेका दुबैजनाको स्पष्ट आधार नभएको भन्दै संसद् विघटनको घोषणा गरेकी थिइन् ।

गण्डकी प्रदेशमा पनि यही नियति दोहोरिएका कारण फेरि प्रदेश सभा विघटनको घोषणा हुनसक्ने आँकलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी सरकार ढल्ने स्थिति आएपछि माओवादी केन्द्रबाट प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गर्दै सीताकुमारी पौडेललाई प्रदेश प्रमुखमा सिफारिस गरेका थिए ।

Leave a Reply

Your email address will not be published.