पूर्व प्रधानमन्त्री र शक्तिशाली नेताहरूलाई हराउने चर्चित नेता अहिले के गर्दै छन्?

काठमाडाैं । विसं २०६२-६३मा जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य घोषणा गरिएपछि भएको संविधानसभा निर्वाचन परिणाम धेरैका लागि अप्रत्याशित थियो।

गणतन्त्र र सङ्घीयतालाई नयाँ संविधानबाट स्थापित गर्ने नारा सहित चुनावमा भाग लिएको नेकपा माओवादीले बहुमत नजिक जित हासिल गर्‍यो।

दश वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा भाग लिएको नेकपा माओवादीका कमै परिचित उम्मेदवारहरूले अरू दलका कतिपय पूर्व प्रधानमन्त्रीहरू र प्रभावशाली उम्मेदवारहरूलाई पराजित गरेका थिए।

हेमराज भण्डारी जसले सूर्यबहादुर थापालाई हराए

पाँच पटक प्रधानमन्त्री भइसकेका तत्कालीन राप्रपा नेता सूर्यबहादुर थापा विरुद्ध धनकुटामा निर्वाचन लडिरहेका ३० वर्षे युवा हेमराज भण्डारीको नाम पहिलो संविधानसभा निर्वाचन अघि कमैले सुनेका थिए।

तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेका भण्डारीले प्रभावशाली मानिएका थापालाई विसं २०६४ को निर्वाचनमा पराजित गरेपछि उनको चर्चा एकाएक चुलियो।

एक पटक पराजित भएपछि थापा फेरि फर्किएर आफ्नो निर्वाचन क्षेत्रमा गएनन् बरु आफ्ना छोरा सुनिलबहादुर थापालाई गृह जिल्लाको उम्मेदवार बनाए।

भण्डारी यो निर्वाचनमा पनि सूर्यबहादुरका छोरा सुनिलबहादुरसँग प्रतिस्पर्धा गर्दै छन् तर स्वतन्त्र उम्मेदवारको रूपमा। उनी यसअघि आबद्ध रहेको माओवादी केन्द्रले नेपाली कांग्रेसका नेता थापालाई नै समर्थन गरेको छ।

“निर्वाचन अघि मेरो गणना पनि थिएन। तर चुनावको नतिजा आएपछि म एकाएक चर्चाको शिखरमा पुगेँ, धेरैले मेरोबारे चासो राख्न सुरु गरे,” निर्वाचन अभियानमै रहेका भण्डारीले टेलिफोनमा भने।

एमाले र माओवादीबीच गठबन्धन भएको अघिल्लो निर्वाचनमा धनकुटा एमालेको भागमा पर्‍यो। यो निर्वाचनमा पनि धनकुटा कांग्रेसको भागमा पर्ने भएपछि पार्टी नै छोड्ने निर्णयमा भण्डारी पुगेको कतिपयको बुझाइ छ।

“मैले पार्टी छोड्नुमा टिकट मात्रै कारण होइन। मुद्दाबाट विचलित भएर सत्तामा सौदावाजी गर्ने नेतृत्व प्रतिको असन्तुष्टि पनि हो,” उनी भन्छन्।

माओवादीले पहिलो पटक सहभागिता जनाएको उक्त निर्वाचनमा प्रभावशाली नेतालाई पराजित गर्नेमा भण्डारी एक्ला चाहिँ थिएनन्।

उक्त निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, नेता केपी ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला सहितका प्रभावशाली नेताहरू पनि माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

झक्कुप्रसाद सुवेदी जसले माधव नेपाललाई हराए

पहिलो संविधानसभा निर्वाचनमा रोल्पाका माओवादी नेता झक्कुप्रसाद सुवेदीले काठमाण्डू क्षेत्र नम्बर २ मा एमालेका पार्टी प्रमुख माधव नेपाललाई पराजित गरेका थिए।

“मैले चुनाव जित्छु भनेर कसैले सोचेको थिएन। जितेपछि सबैले अचम्म मानिरहेका थिए,” डेढ दशकअघिको निर्वाचन परिणाम सम्झँदै सुवेदी भन्छन्।

निर्वाचनको एक हप्ता अघि नै आफूले पार्टी अध्यक्षलाई चुनाव जित्ने आकलनबारे सुनाएको उनको दाबी छ। आफूले निर्वाचन हारेपछि हाल एकीकृत समाजवादीको अध्यक्ष रहेका नेपालले एमाले नेतृत्वबाट राजीनामा दिएका थिए।

तर उनलाई पछि मनोनीत गरेर संविधानसभा सदस्य बनाइयो र नेपाल लगत्तै प्रधानमन्त्री समेत बने। सुवेदीलाई भने मन्त्री पनि नबनाएको गुनासो त्यसबेला धेरैले माओवादी नेतृत्वलाई गरेका थिए।

सुवेदीले नेपाललाई हराएको क्षेत्रको ठूलो भाग त्यही हो जहाँ विसं २०५१को उपनिर्वाचनमा एमाले नेतृ विद्या भण्डारीले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकी थिइन्।

पहिलो पटककै निर्वाचनमा प्रभावशाली नेतालाई पराजित गर्न सफल भण्डारी अन्ततः राष्ट्रपति भएकी छिन्। तर सुवेदी भने आफू चाहिँ अब फेरि चुनाव पनि नउठ्ने मनस्थितिमा रहेको बताउँछन्।

“मलाई पार्टी कमिटीहरूले पहिलो नम्बरमा राखेर सिफारिस गरेका थिए तर मैले आफैँ चुनाव उठ्न नचाहेको हो। म अहिले काठमाण्डू क्षेत्र नम्बर २ मै माओवादी उम्मेदवारलाई जिताउन खटिइरहेको छु,” उनले भने।

माओवादीले यो क्षेत्रबाट पूर्व सभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ।

पहिलो संविधानसभा असफल भएपछि विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि सुवेदीले उम्मेदवारी दिएनन्। त्यस बेला आफूले चुनाव उठ्न नचाहेको उनले बताए। तर बाम गठबन्धनले बहुमत हासिल गरेको २०७४ को निर्वाचनमा पार्टीले ‘जोड गरेपछि’ आफू उम्मेदवार बनेको उनको दाबी छ।

तर आफू त्यसअघि निर्वाचित भएको क्षेत्र आफैँले विसं २०६४ मा पराजित गरेका एमाले नेता माधव नेपाललाई छोड्नुपर्ने भएपछि सुवेदी काठमाण्डू-६ बाट उम्मेदवार बने। क्षेत्र परिवर्तन गरेका सुवेदी कांग्रेस नेता भीमसेन दास प्रधानसँग झिनो मतान्तरले पराजित भएका थिए।

राजेन्द्र केसी जसले प्रचण्डलाई हराए
पहिलो संविधानसभा निर्वाचनमा बहुमत नजिक पुगेको माओवादीले एक वर्षमै सरकार छाड्नुपरेको र संविधानसभाबाट संविधान बनाउन आफ्ना मुद्दामा साथ नपाएको भन्दै दोस्रो संविधानसभा निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने नारा सहित अभियान चलाएको थियो।

त्यसअघि आफूले निर्वाचन जितेको काठमाण्डू क्षेत्र नम्बर १० र सिराहाबाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डूमा कांग्रेसका स्थानीय नेता राजेन्द्र केसीसँग पराजित भए।

“त्यस बेला मलाई पार्टी सभापति सुशील कोइरालाले फोन गरेर बधाई दिनुभयो। पार्टी बाहिरबाट पनि धेरैले मेरो जितलाई स्वागत गरे,” विसं २०७० को निर्वाचनमा प्रचण्डलाई पराजित गरेपछिको क्षण स्मरण गर्दै केसी भन्छन्।

काठमाण्डूबाट पराजित भएपछि प्रचण्ड फेरि काठमाण्डू फर्किएनन्। केसीले भने उक्त क्षेत्रबाट त्यसपछि पनि निरन्तर जित हासिल गरिरहेका छन्।

“प्रचण्डलाई हराएको मान्छे मन्त्री बनाउनुपर्छ भन्ने कुरा पार्टीमा समेत साथीहरूले राखे। म पछि खेलकुद मन्त्री पनि भएँ,” उनले भने।

तर २०७०मा प्रचण्डसँग प्रतिस्पर्धा गरेको समय जस्तो आफ्नो चुनावी चर्चा त्यसपछिका निर्वाचनमा नभएको उनको भनाइ छ।

“त्यस बेला यो क्षेत्रको चुनावबारे अरूलाई बढी रौनक थियो मलाई चाहिँ निर्वाचन सधैँ उस्तै नै हो,” केसी भन्छन्। देशका अधिकांश स्थानमा केसी आबद्ध कांग्रेस र माओवादीबीच गठबन्धन भए पनि यो क्षेत्रमा भने माओवादीले छुट्टै उम्मेदवार उठाएको छ।

शम्भुलाल श्रेष्ठ जसले झलनाथ खनाललाई हराए

पहिलो संविधानसभा निर्वाचनमा अप्रत्याशित परिणाम भोगेका धेरै नेताहरूले २०७०को निर्वाचनमा दुई स्थानबाट उम्मेदवारी दिएका थिए।

इलाम १ र सर्लाही १ बाट उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल सर्लाहीमा माओवादीका शम्भुलाल श्रेष्ठसँग पराजित भए।

माधव नेपालले राजीनामा दिएपछि एमालेको अध्यक्ष बनेका झलनाथ खनाल इलामबाट भने निर्वाचित भएका थिए।

खनाललाई पराजित गरेर कुनै समय चर्चाको चुलीमा पुगेका श्रेष्ठ यो पटकको निर्वाचनमा भने चुपचाप घरैमा बसेका छन्।

“म टिकट पाउनेमा ढुक्क भएर बसेको थिएँ तर यो क्षेत्र तालमेल गर्दा लोसपाको भागमा पर्‍यो। मलाई पार्टीले प्रचार प्रसारमा खटाइसकेको पनि छैन अहिले घरै बसिरहेको छु,” श्रेष्ठले केही दिनअघि बीबीसी न्यूज नेपालीसँग भने।

कांग्रेसबाट माओवादी प्रवेश गरेर दोस्रो संविधानसभामा निर्वाचित भएका श्रेष्ठ २०७४ को निर्वाचनअघि मन्त्री समेत भए। फेरि कांग्रेसमै फर्किएका श्रेष्ठ २०७४ को निर्वाचनमा बाम गठबन्धनसँग पराजित भएका थिए।

ओली, सिटौला र खड्कालाई हराउने उम्मेदवार

पहिलो संविधानसभा निर्वाचनमा एमालेका वर्तमान अध्यक्ष केपी ओली पनि माओवादीका विश्वदिप लिङ्देनसँग पराजित भएका थिए। तर ओली उक्त समय एमालेको नेतृत्वमा केही नेताहरू पछि मात्रै थिए।

ओलीलाई पराजित गरेका लिङ्देन त्यसपछिका कुनै निर्वाचनबाट सांसद बन्न सकेनन्। अहिले कांग्रेसमा आबद्ध लिङ्देन ओलीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने दाबेदार भए पनि कांग्रेसले उक्त क्षेत्रबाट खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।

संविधानसभाको त्यो निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला माओवादीका पूर्णसिंह राजवंशीसँग झापाबाट पराजित भएका थिए। राजवंशी यसपालि प्रदेशसभा सदस्यका लागि झापाबाटै उम्मेदवार बनेका छन्।

कांग्रेसकै अर्का प्रभावशाली नेता खुमबहादुर खड्कालाई पनि विसं २०६४को पहिलो संविधानसभामा माओवादीका इन्द्रजीत थारुले दाङबाट पराजित गरेका थिए।

थारु अहिले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री छन् र प्रदेशसभा निर्वाचनमा दाङबाट उम्मेदवार छन्। बीबीसी न्यूज

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *