पुरानै पात्र, नयाँ प्रतिस्पर्धा : तीस वर्षपछि आमनेसामने हुँदै शाक्य–कँडेल

सुर्खेत । वि.सं. २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले)का यमलाल कँडेलबीच मङ्सिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदैछ ।

प्रजातन्त्रको पुनः स्थापनापछि विभिन्न समयमा निर्वाचनहरू भए र ती निर्वाचनहरूमा राजनीतिक दलका उम्मेदवारबीचको प्रतिस्पर्धामा जनताको अभिमतका आधारमा कोही विजयी र कसैले पराजय भोग्नु पर्दछ ।

एकै निर्वाचन क्षेत्रमा ३० वर्षअघि प्रतिस्पर्धामा रहेका दुई नेताबीच यसपटकको प्रदेशसभा निर्वाचनमा पुनः आमनेसामने हुँदै हुनुहुन्छ ।

विसं. २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा (एमाले)का यमलाल कँडेलबीच मङ्सिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदैछ ।

त्यतिबेला कांग्रेसका शाक्यलाई पराजित गरेर एमालेका कँडेल वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

सत्ता–गठबन्धनका तर्फबाट सुर्खेत क्षेत्र नं २ प्रदेशसभा (१) बाट उम्मेदवार बन्नुभएका कांग्रेसका शाक्यलाई एकीकृत समाजवादी बाहेकका दलको समर्थन छ भने एमालेले कँडेललाई उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा उतारेको छ ।

यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएका कँडेलले तत्कालीन वाम–गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गर्नुभएको थियो ।

यसपटक पनि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा दोहोरिन खोज्नुभएका कँडेललाई गठबन्धनका शाक्य चुनौती बन्नुभएको छ ।

गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्यको दाबी छ । उम्मेदवार शाक्य भन्नुहुन्छ, “मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी र गठबन्धन उत्साही बनेको छ । मजबुत सङ्गठन र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।” कांग्रेस महासमिति सदस्य शाक्य आफू जित्ने दाउमा हुनुहुन्छ ।

कांग्रेसका पूर्वजिल्ला उपसभापति, पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनुभएका शाक्यले जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिनुभएको थियो । तर, उहाँ झिनो मतान्तरले पराजित हुनुपरेको थियो ।

शाक्यले कँडेल र उपाध्यायभन्दा आफू बलियो उम्मेदवार भएको दाबी गर्नुभयो । “पार्टीमा एकता र वाम गठबन्धनको सहयोगले मैले चुनाव जित्ने पक्का छ, विसं २०४९ यता कँडेलले सुर्खेतका लागि गरेको विकास जनताले हेरिसकेको छ”,

उहाँले भन्नुभयो, “उहाँले ३० वर्षसम्म जनतालाई भोट बैङ्कका रूपमा मात्रै प्रयोग गर्नुभयो, हरेक पटक उहाँको झुटो आश्वासनबाट हैरान भएका छन्, अब उनीहरूले नयाँ अनुहारलाई जिताउनेछन् ।”

यता एमाले एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका कँडेल पनि आफ्नो विजयी यात्रा जारी राख्ने लक्ष्यमा हुनुहुन्छ । एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इन्चार्ज र स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

विसं २०५१ मध्यावधि र २०७४ को संविधानसभा निर्वाचनमा विजयी बन्नुभयो भने विसं २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका हृदयराम थानीसँग पराजित हुनुभएको थियो । विद्यार्थी राजनीतिदेखि नै थानी–कँडेल निरन्तर प्रतिस्पर्धामा रहनुहुन्थ्यो ।

यसअघि मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभामा निर्वाचित कँडेल मुख्यमन्त्री बन्न भने सक्नुभएन । त्यतिबेला साबिक पूर्वमाओवादीको भागमा कर्णालीको मुख्यमन्त्री परेपछि कँडेलको योजना असफल भएको थियो ।

यसपालि फेरि मुख्यमन्त्री हुने योजनासहित कँडेल आफूभन्दा कनिष्ठ एमाले नेताहरूलाई प्रतिनिधिसभामा पठाएर प्रदेशमै लड्नुभएको छ ।

“केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो,” एमाले उम्मेदवार कँडेलले भन्नुभयो । प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनः प्रदेशसभाकै उम्मेदवार बनेको एमाले उम्मेदवार कँडेलले बताउनुभयो ।

विसं २०४९ मै वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख जितेका एकीकृत समाजवादीका नेता शिवप्रसाद उपाध्याय पनि शाक्य र कँडेलसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । उहाँहरू तीनै जनाबीच प्रदेशसभा २ (क) बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुनेछ । तीनै जना उम्मेदवारले निर्वाचन आफूले जित्ने दाबी गरिरहनुभएको छ ।

एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य लड्नुभएका उपाध्यायले भने लामो समयसम्म सङ्घर्ष गरेकाले आफूले जित्नेमा दुई मत नभएको तर्क गर्नुभयो ।

उहाँले दुई पटक वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख भएर काम गरेकाले पनि आफूले चुनाव जित्ने बताउनुभयो । “नगरवासी र मतदाताले मलाई नजिकबाट चिन्नुभएको छ, म जित्नेमा विश्वस्त छु,”उहाँले भन्नुभयो ।

गठबन्धनभित्रै चुनावी प्रतिस्पर्धा

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन भए पनि भाग नपाएपछि एकीकृत समाजवादीले प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवार उठाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (क) र (ख) मा उम्मेदवार उठाएको छ । भाग नपाएपछि प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार अगाडि सारेको एकीकृत समाजवादीले ती दुई क्षेत्रमा समाजवादीका नेताहरूले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् ।

भागबन्डामा नपरेपछि असन्तुष्टि जनाउँदै पार्टीको जनमतका आधारमा उम्मेदवारी दिएको एकीकृत समाजवादीका जिल्ला तहका नेताहरूको दाबी रहेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ (क) मा शिवप्रसाद उपाध्याय र (ख)मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ ।

यसरी सुर्खेतका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरूभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । भागबन्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली कांग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।

सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष प्रदेशसभा सदस्यका उम्मेदवार मोहनसिंह बडुवालले बताउनुभयो ।

“गठबन्धनको निर्णय जेसुकै भए पनि जनताको साथ हामीसँग छ,” उहाँले भन्नुभयो, “पार्टीको केन्द्रीय निर्णयअनुसार नै आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौँ”, उहाँले भन्नुभयो, “जनमत हाम्रो पक्षमा भएकाले हामी चुनावमा होमिएका हौँ ।”

२० वटा मतदान केन्द्र अतिसंवेदनशील

सुर्खेतमा २० वटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ भने ८६ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाका १३९ मतदान स्थलका २९३ वटा मतदान केन्द्रमध्ये २० वटालाई अतिसंवेदनशील केन्द्रका रूपमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनमा सुरक्षाका हिसाबले सुर्खेतमा १३९ मतदानस्थलमध्ये ३३ वटा कम संवेदनशीलका रूपमा राखिएको छ । प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सुरक्षा चुनौती न्यूनीकरणका लागि जिल्ला सुरक्षा समितिमार्फत मतदानस्थलको सुरक्षाका लागि आवश्यक कामहरू भइसकेको जनाइएको छ ।

सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदान स्थलहरूको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

संवेदनशील मतदानस्थलमा तत्काल थप सुरक्षाकर्मी पुग्नेगरी रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको छ ।

निर्वाचनका लागि दुई हजार ३४४ कर्मचारी खटिँदै

निर्वाचन गराउने प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३४४ कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै १३९ मतदानस्थलका २९३ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत गायतका कर्मचारी खटाउन लागिएको छ ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीका अनुसार आवश्यकताअनुसार थप कर्मचारी र स्वयंसेवक खटाउन सकिनेछ । उहाँका अनुसार ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दाबढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको छ ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रका मतदानस्थल र मतदान केन्द्रमा खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको पनि प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *