भोट माग्न पुगेका मन्त्री श्रेष्ठसँग मतदाताले लालपुर्जा मागेपछि…

भरतपुर। चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् ।

आज लोकतान्त्रिक– वाम गठबन्धनका तर्फबाट भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरिएको थियो ।

सो क्रममा भरतपुर ११ र १२ का भूमिहिनले श्रेष्ठलाई जग्गाधनी पुर्जा दिलाइ दिन माग गरे । उनीहरूले विगत २३ वर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठसँग लालपुर्जा दिलाइदिन अनुरोध गरेका छन् ।

घरदैलो गर्ने क्रममा भूमिहिनले आफूलाई जग्गाधनी पुर्जा मिलाइ दिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका छन् ।

भरतपुर वडा नम्बर १२ का भूमिहिन वीरबहादुर तामाङले वर्षौदेखि नेताहरूले आश्वासन मात्रै दिएको गुनासो गरे । आफूहरूले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नुपरेको भन्दै तामाङले दुःखेसो पोखे ।

भूमिहिनका अगुवाले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पुर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउँछन् ।

“कतै काम खोज्न जांँदा पनि सुकुम्वासी भनेर काम पाइँदैन । सार्वजनिक जग्गामा नत न त नचुहिने घर बनाउन सक्छौँ । हाम्रो बासको ग्यारेन्टि अब निर्वाचित हुनेले गर्नुहुन्छ भन्ने आशा छ ।”

गुनासो सुनेपछि जवाफ दिँदै उम्मेदवार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाइ दिने प्रतिबद्धता व्यक्त गरे । “म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरूले जस्तै दुःख संघर्ष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरूको पीडा नबुझे कसले बुझ्छ र ?”, श्रेष्ठले भने ।

श्रेष्ठले यसको लागि भूमिहिनको भोटको आवश्यक रहेकाले जिताएर सांसद बनाइ दिन आग्रह गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *