चुनाव प्रचारप्रसारको अन्तिम दिन‚ आज मध्यरातदेखि स्थिर समय

काठमाडाैं । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको ‘स्थिर समय’ आज राति १२ बजेदेखि शुरू हुँदैछ।

स्थिर समयमा निर्वाचन प्रचारप्रसारको कुनै पनि कार्य गर्न नपाइने निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले जानकारी दिए। स्थिर समय निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि शुरू हुने उनले बताए।

निर्वाचन कसूर तथा सजाय ऐन दफा २४ को उपदफा ५ मा उल्लेख छ‚ “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलूस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन।”

स्थिर समय मतदान शुरू हुने समयभन्दा अघिका ४८ घण्टालाई लिइने आयुक्त भण्डारीले जानकारी दिए। “हाम्रो मतदान मंसीर ४ गते बिहान ७ बजेबाट शुरू हुन्छ‚” उनले प्रष्ट्याए‚ “त्यसबाट ४८ घण्टा तानेर ल्याउँदा मंसीर १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ।”

‘स्थिर समय’ लाई यसअघि ‘मौन अवधि’ र ‘शून्य समय’ भनिंदै आएको थियो। किन अहिले स्थिर समय भनियो? निर्वाचन आयुक्त भण्डारी भन्छन्‚ “पहिला यसलाई मौन अवधि भनी सम्बोधन गरिएको रहेछ।

हामीले त्यो मौन अवधि कहाँ छ भनी कानूनमा हेर्‍यौं। कहीं पनि मौन अवधि भन्ने शब्द परेको रहेनछ। त्यसपछि त्यसलाई मौन अवधि भनेर मानेनौं। योभन्दा अगाडि शून्य समय भन्यौं। तर‚ ४८ घण्टाको त्यो समयलाई स्थिर समय सम्बोधन गर्न उचित हुन्छ भन्ने हामीलाई लाग्छ।”

निर्वाचन आयोगले कात्तिक १७ देखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलूस, कोणसभा जस्ता कार्यक्रम र सञ्चार माध्यमको प्रयोग गरेर पनि प्रचारप्रसार गर्न पाइने व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *