एकदिवसीय कृकेट शृंखला : नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो तथा निर्णायक खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले शुक्रबार नेपालसामु १७७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १७६ रनको योगफल खडा गर्‍याे ।

९३–९ को अवस्थामा रहँदा आयान अफ्जल खान र हजरत बिलालले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गर्दै यूएईलाई सम्मानजनक योगफलसम्म पूर्‍याएका थिए । आयानले अविजित ५४ रन बनाए । उनले ६३ बलमा सात चौका र एक छक्का प्रहार गरे । उनलाई क्रिजमा साथ दिएका बिलालले ५३ बलमा एक छक्कासहित १८ रनमा अविजित रहे ।

अलिसन सराफुले ३३ रन बनाए । रोहन मुस्तफाले २४ र मुहम्मद वसिमले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका तीन ब्याट्सम्यान डक आउट भएका थिए ।

यूएईलाई मध्यम योगफलमा रोक्न नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान दुई विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिए ।

यूएई तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमण आएको हो ।

यसअघि शृंखलाको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा तीन विकेटको जित निकाल्दै शृंखला १–१ को बराबरीमा ल्याएको थियो । आजको खेल जित्ने टिमले शृंखलाको उपाधि जित्नेछ ।

शृंखलाका प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ लाई २० हजार र शृंखलाको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *