भालुवाङमा खुल्यो लुम्बिनीको मन्त्रालय

रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा विस्तार हुन थालेको छ । भालुवाङमा अहिले एउटा मन्त्रालय स्थानान्तरण भएको छ ।

ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थानान्तरण भए पनि मन्त्री तथा कर्मचारीहरू भने अझै सरेका छैनन् । सबैजसो मन्त्रालयको काम बुटवलबाटै भइरहेको छ ।

भौतिक पूर्वाधार निर्माणमा खटिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार थप २ वटा मन्त्रालय पनि सर्ने तयारीमा छन् । अब भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय बुटवलबाट सर्ने तयारी भइरहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थले अनौपचारिक रूपमा जाने कुरा भएको तर मन्त्रालयमा हालसम्म कुनै औपचारिक जानकारी नआएको बताएका छन् । उनी भन्छन्, ‘फेरि दुईटा मन्त्रालय जाने तयारी भइरहेको भन्ने छ । तर, आधिकारिकता आएकै छैन ।’

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख धुव्र मजगैयाका अनुसार सम्भवतः साउनदेखि थप दुई मन्त्रालय पनि सर्ने र कामकाज सुरु गर्ने तयारी छ ।

उनका अनुसार स्थायी राजधानीको नयाँ भौतिक संरचनाको काम कोरोनाका कारण सुस्त भएको र अब लकडाउन खुलेसँगै गति लिनेछ ।

Leave a Reply

Your email address will not be published.