कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।

२० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए ।

ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ ।

राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ ।

एक वर्षमा ९ लाख ३३ हजार ई-पासपोर्ट जारी

सरकारले एक वर्षमा ९ लाख ३३ हजार २९३ थान विद्युतीय राहदानी वितरण गरेको छ । १ मंसिर २०७९देखि विद्युतीय राहदानीको वितरण थालेको राहदानी विभागले आफ्नो कार्यालयबाट ३ लाख ३४ हजार ५८३,

जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ थान पासपोर्ट वितरण गरेको छ ।

विभागले २०७६ असोजमा विद्युतीय राहदानीको परीक्षण उत्पादन थालेर १ मंसिर, २०७८ बाट विद्युतीय राहदानीको औपचारिक रूपमा उत्पादन तथा वितरण सुरु गरेको थियो ।

विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी हुने गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट लाइभ इनरोलमेन्ट भएर विभागमा छपाइ भएका विद्युतीय राहदानीहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूमा यथाशीघ्र पुग्ने व्यवस्था मिलाइएको विभागले एक सूचना जारी गरेर जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *