आम निर्वाचन : मतदान सुरु, नायक छान्दै मतदाता

काठमाडौं। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एकै चरणमा अहिले ७ बजेबाट देशभर मतदान कार्य सुरु भएको छ । अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान स्थलभित्र आयोगले तोके क्षेत्रमा प्रवेश गरिसकेका मतदाताले मतदान पाउने छन् ।

संविधान अनुसार नेपालको संघीय संसद् दुई सदनात्मक छ । प्रतिनिधि सभाका २७५ सदस्यमध्ये १६५ सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् ।

एक निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कूल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभामा त्यसको दोब्बर अर्थात् ३३० निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान हुने छ । प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० सदस्य समानुपातिक प्रणाली अनुसार निर्वाचित हुने छन् ।

एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्दैछन् । त्यसका लागि १० हजार ८९१ मतदान स्थलमा २२ हजार मतदान केन्द्र तोकिएका छन् । १४६ अस्थायी मतदान केन्द्रमा करिब डेढ लाख मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ मतदान गर्ने नयाँ व्यवस्था गरिएको जानकारी निर्वाचन आयोगले दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोकेबमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति(पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जान आग्रह गर्नुभएको छ ।

समानुपातिकतर्फ नेपाल सरकारका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदीलाई मताधिकार प्राप्त भएको छ ।

देशभर २५ हजार ९०० कैदीबन्दी छन् र काठमाडौं उपत्यकाका कारागारमा पाँच हजार ४५६ कैदीबन्दी भएको जानकारी कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले दिनुभयो । निर्वाचन कसूरमा कारागारमा रहेका कैदीले भने मतदान गर्न पाउँदैनन् ।

चारवटा मतपत्रमा चार छाप

मतदाताले सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मन परेको उम्मेदवारको निर्वाचन चिह्न र मन परेको राजनीतिक दलको निर्वाचन चिह्नमा मतदान गर्ने छ । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा रातो रङको निर्वाचन चिह्नमा र समानुपातिकतर्फ सेतो पृष्ठभूमिको कागजमा कालो रङ्गको निर्वाचन चिह्नमा एक एक छाप लगाउनुपर्ने छ ।

यसैगरी, प्रदेश प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिको कागजमा रातो रङको निर्वाचन चिह्न छापिएको मतपत्र र समानुपातिकतर्फ सेतो पृष्ठभूमिको कागजमा कालो रङ्गको मतपत्रमा छाप लगाउनुपर्ने छ । हरेक मतपत्रमा छाप लगाएर तोकिएका मतपेटिकमा खसाउनुपर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *