रवि लामिछानेले कहाँबाट गरे मतदान ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।

उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसाले तर प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

सभामुखबाट मतदान

सभामुख अग्नि प्रसाद सापकोटाले सिन्धुपाल्चोकको कुबिण्डे सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट पहिलो मतदान गर्नु भएको छ ।

चौतारा साँगचोकगढी नगरपालिका–४ कबिण्डेबाट ७ बजे बिहान मतदान गर्नु भएको छ । सभामुख सापकोटा मतदान गर्न मङ्सिर २ गते गृहगाउँ कुबिण्डे आइपुग्नु भएको थियो । सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ उहाँको निर्वाचन क्षेत्र हो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गर्नुभएको हो। प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुग्नुभएको थियो।

प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।

प्रधानमन्त्रीकै लागि विवाद गर्दैनौँ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछि पनि गठबन्धन कायमै रहने बताउनुभएको छ ।

आज मतदान गरेपछि उहाँले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै लागि आफूहरू विवाद नगर्ने स्पष्ट पार्नुभयो । कांग्रेसबट पनि साथीहरू हुनुहुन्छ । शेरबहादुर देउवाजी र गगन थापाजीको पनि कुरा छ तर हामी मिलेरै प्रधानमन्त्री टुङ्ग्याउँछौँ, उहाँले भन्नुभयो ।

गठबन्धनको स्पष्ट बहुमत आउने र आफूहरूले नै सरकार बनाउने पनि प्रचण्डले जानकारी दिनुभयो । प्रचण्डले शान्तिपुरस्थित प्रहरी स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले मतदान गरेसँगै चितवनमा मतदान सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *