दोस्रो सङ्घीय र प्रादेशिक चुनावमा मतदान जारी !

काठमाडाैं । नयाँ संविधान जारी भए यता दोस्रो पटक हुन लागेको सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

मतदान केन्द्रमा क्यामेरा, मोबाइल, सलाई र लाइटर जस्ता वस्तुलाई निषेधित गरिएको निर्वाचन आयोगले बताएको छ।

आयोगले मङ्गलवार जनाए अनुसार कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो साथमा लगी मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत गरिनेछ।

कति छन् उम्मेदवार र मतदान केन्द्र

प्रतिनिधिसभा र सातवटै प्रदेशका प्रदेशसभाका सदस्य चयनका लागि भइरहेको चुनावमा ५,६०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्।

पहिलो हुनेले जित्ने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक मतदाताले चार वटा मतपत्रमा भोट खसाल्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

यसपटकको चुनावमा १० हजार ८९२ मतदान स्थल कायम गरिएको छ। मतदानलाई व्यवस्थित बनाउन २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको छ।

कूल मतदाताको सङ्ख्या १,७९,८८,५७० रहेको छ जसको ५० दशमलव ८१ प्रतिशत पुरुष रहेका छन्। अन्तिम मतदाता सूचीमा पुरुष मतदाताको सङ्ख्या महिला मतदाता भन्दा झन्डै ३ लाखले बढी रहेको छ।

अन्य लिङ्गका रूपमा पहिचान खुलाइएका मतदाताको सङ्ख्या १८५ रहेको जनाइएको छ।

निर्वाचन आयोगका अनुसार गएको साउन १९ गतेसम्म मतादाता नामावलीमा नाम दर्ता गराएका र शनिवारसम्म १८ वर्ष पुग्ने व्यक्तिले भोट खसाल्न मिल्ने छ।

सबैभन्दा धेरै मतदाता मोरङ, झापा र काठमाण्डूमा रहेका छन्। सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा छन्। सबैभन्दा कम मतदाता रहेको मनाङमा मतदाताको सङ्ख्या ६,७७९ रहेको निर्वाचन आयोगको भनाइ छ।

तीन तहका सरकारको स्वामित्वमा रहेका सरकारी निकाय वा संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सैनिक, प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका कैदी वा सरकारको स्वीकृति लिएर सञ्चालन भएका वृद्धाश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाता भनिएको छ।

त्यस्ता मतदाताले समानुपातिक प्रणाली अन्तर्गतको मतपत्रमा मात्रै भोट खसाल्न पाउनेछन्।

कहाँ छन् धेरै र कम उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनका लागि ६८ वटा दलले निवेदन दिएका थिए त्यसमध्ये ४८ वटा दलहरूले मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाएका छन्।

प्रदेशसभाको निर्वाचनका लागि आवेदन दिएका दलहरूको सङ्ख्या प्रदेश अनुसार फरक फरक छ।

प्रतिनिधिसभा अन्तर्गत १६५ जना सांसद प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनेछन् भने ११० जना दलले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने भोटबाट चुनिने छन्।

पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि २,४१२ जना चुनावी प्रतिस्पर्धामा छन्।

त्यसमध्ये ९.३२ प्रतिशत उम्मेदवार महिला रहेका छन्। सबैभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र बाग्मती प्रदेशमा रहेका छन्। सबैभन्दा बढी ३२ जना उम्मेदवार काठमान्डु क्षेत्र नम्बर एकमा रहेका छन्।

मोरङ ३ र धनुषा ३ मा ३१/३१ जना उम्मेदवार रहेका छन्। काठमाण्डूकै क्षेत्र नम्बर ४ र २ पनि बढी उम्मेदवार रहेका पाँच क्षेत्रमा पर्छन्।

बढी महिला उम्मेदवार रहेका ५ वटा निर्वाचन क्षेत्रमा काठमान्डु १, सुनसरी ३, भक्तपुर २, धनुषा ३ र दाङ १ पर्छन्।मनाङ १, हुम्ला १ र मुस्ताङ १ सबैभन्दा कम उम्मेदवार भएका प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *