चितवनमा मतपेटिका जलाउने प्रयास, अवस्था तनावग्रस्त !

काठमाडौं । चितवनमा नेत्रविक्रम चन्द विप्लव समूहले निर्वाचन विथोल्ने प्रयास गरेको छ । सो क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीका अनुसार राप्ती नरपालिका–८ बह्मस्थानीमा रहेको विद्यालयमा विप्लव समूहका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेका थिए । अहिले अवस्था तनावग्रस्त छ ।

संविधानसभा अध्यक्ष नेम्बाङद्वारा मतदान

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देशमा आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।

आज बिहान आफूले मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आवश्यक त्यो परिवर्तन अब निर्वाचित जनप्रतिनिधि र सरकारले गर्ने बताउनु भयो ।

नेपालको संविधान कार्यान्वयनमा रहेकाले अब कुनै पनि राजनीतिक परिवर्तनका लागि भने आन्दोलन गर्नुनपर्ने नेम्वाङको भनाइ छ ।

इलाम क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेम्बाङले आज इलाम नगरपालिका स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र ‘ग’ मा बिहान ८ बजे मतदान गर्नुभएको थियो ।

सोही मतदान स्थलबाट नेकपा (एमाले) क्षेत्र नं १ का उम्मेदवार महेश बस्नेत र इलाम क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पनि मतदान गर्नुभएको छ ।

विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गरौँ–प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विवेकको मत सुझबुझ ढङ्गले प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी, लोकन्थली मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । देशभरका १०, ८९२ मतदानस्थलका २२,२२७ मतदान केन्द्रबाट मतदान कार्य आरम्भ भइसकेको पनि उहाँले जोड्नुभयो ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिबाट प्रारम्भ गर्‍यौँ । हामीले दिन खोजेको सन्देश के हो भने, मतदान केन्द्रलाई आयोगले यो पल्ट अपाङ्गतामैत्री बनाउने प्रयास गरेको छ,

स्थानीय तहको निर्वाचनको अनुभवले पनि यो सिकाएको छ । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, काखे बच्चा भएकालाई मतदानमा सहजीकरण गरिदिनुहोस् ।”

आफ्ना परिवारका चार जना सबै सदस्य मतदानमा सहभागी भएको भन्नुहुँदै उहाँले हिमाली जिल्लाहरूमा ठ्याक्कै ७ बजे मतदान कार्य प्रारम्भ हुन नसकेपनि केही समयपछि मतदान कार्य सुरु हुने बताउनुभयो । उहाँले देशैभरमा शान्तपूर्ण मतदान कार्य हुने कुरा जोड्नुभयो ।

स्थानीय तहको निर्वाचनको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *